आर्सनललाई पराजित गर्दै साविक विजेता म्यानचेस्टर सिटी उपाधि रक्षातर्फ अघि बढ्दै

 साउन २८, २०७५ सोमबार ७:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनललाई पराजित गरी साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा उपाधि रक्षाको अभियान सुरु गरेको छ ।

पहिलो खेलमा आइतबार आर्सनललाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् कि उनको टोली यो भन्दा अझै राम्रो खेल्न सक्षम थियो ।

यता आर्सनल भने सन् १९९६ पछि पहिलो पटक आर्सने वेंगरबाहेकका प्रशिक्षकको मातहतमा ठूला प्रतियोगिता सुरुआत गर्दै थियो ।

खेलको १४औं मिनेटमा करिब २० यार्ड टाढाबाट रहीम स्टर्लिंगले गोल गरी पाहुना टोली सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

सिटीका लागि डेब्यू खेलमा रियाद मेहेरेज पनि गोलको नजिक थिए । तर, उनको प्रहार आर्सनलका गोलरक्षक पिटर चेकले मुस्किलले जोगाए । त्यस्तै एमेरिक लापोर्टेको प्रहार पनि चेकले रोकिदिए ।

तर, ६४औं मिनेटमा बर्नार्डाे सिल्भाले पेनाल्टी एरियाबाट प्रहार गरेको शानदार भली चेकले पत्तो पाउनै सकेनन् । त्यसयता दुवै टोलीले गोल गर्न सकेनन् र सिटी २-० ले विजयी भयो ।

‘हामीसँग त्यस्ता थुप्रै खेलाडीहरु छन् जो पछिल्लो दुई सिजनदेखि एकसाथ खेलिरहेका छन् ।’ सिटी प्रशिक्षक ग्वार्डिओलाले भने, हामीले मूलतः राम्रै प्रदर्शन गर्यौं र एक पछि अर्को खेलमा हामी अझै राम्रो गर्न सक्छौं ।’

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया