बाढीका कारण दाङका मुख्य सडकहरुमा यातायात ठप्प

 साउन २८, २०७५ सोमबार ८:१०:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा सोमबार बिहानदेखि लमही— तुलसीपुर सडकमा यातायात ठप्प छ ।

लमही—तुल्सीपुर सडकखण्ड अन्तरगत बबइखोला, पत्रेखोला, सग्राम खोला, ग्वारखोला लगायतका खोलामा बाढी आएका कारण सवारी साधन चलेका छैनन् ।

बाढीका कारण सबैभन्दा बढि मोटरसाइकल चालकहरु मारमा परेका छन् । खोलामा मोटरसाइकल जोखिम मोलेर डोर्‍याएर तार्नु पर्ने बाध्यता रहेको मोटरसाइकल चालकको गुनासो छ ।

दैनिक जस्तै आउने बाढीमा मोटरसाइकलहरु दिनहुँ जसो खोलामा पल्टने तथा बग्ने गरेका छन् । जनधनको क्षति हुन नदिन बाढी आउनेबित्तिकै प्रहरीले खोलाको दुवै किनारमा पहरा दिने गरेको छ ।

दाङको लमही-तुलसीपुर सडकमा पर्ने दश ओटा खोला मध्ये ९ ओटा खोलामा पुल नहुँदा यात्रु तथा सवारी साधनले वर्षौदेखी सास्ती खेप्दै आएका छन् ।

नदी आसपासमा चेतावनीको साइरन

निरन्तर वर्षाको कारण दाङको राप्ती नदीमा बाढी बढेपछि  सोमबार बिहानैदेखि चेतावनीको साईरन बजाइएको छ ।  निरन्तर पानी परेकाले राप्ती नदीको चर्नेटा, बागास्वोती, कुशुममा जलसतह बढ्दै गएपछि चेतावानीको साइरन बजिरहेको छ ।

नदि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचन प्रवाह गरी सावधानी अपनाउन जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले आग्रह गर्नुभयो ।

साना खोलाहरुको बहाब तीव्र वृद्धि भैरहेको छ । लमही-तुलसीपुर-लमही सम्मको यात्रा गर्दा सावधानी आपनाउन पनि आग्रह गरिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया