टेलिकमको आम्दानी थोरैले बढ्यो

 साउन २८, २०७५ सोमबार ८:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल टेलिकमले गएको आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव १९ प्रतिशतले बढेको हो ।

गएको आर्थिक वर्षमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो। कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा एक दशमलव ९२ प्रतिशतले मात्र वृद्धि भएको हो ।

टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा एक रुपैयाँ ९६ पैसाले वृद्धि भई १०४ रुपैयाँ ४५ पैसा पुगेको छ ।

लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी ‘टिडिएम माइग्रेसन’ आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न सुरु गरिएको टेलिकमले जनाएको छ ।

टेलिकममा अनुसार अहिलेसम्म झण्डै एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकामा तोकिएको समय अगावै सबै स्थानमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया