बजारमा सुन खोज्ने बढे, व्यवसायी भन्छन् – सबैलाई पुग्ने गरी गहना बनाउन सकिएन

 साउन २८, २०७५ सोमबार ८:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सुनको माग बढेसँगै अभाव पनि बढेको छ । चाडपर्व नजिकिएसँगै अहिले सुनको माग ह्वात्तै बढेको छ । अहिले दैनिक ४० किलो भन्दा बढी सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तर माग बढे पनि आपूर्ति नबढ्दा सुनको कारोबार नै प्रभावित भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको अभावले गर्दा गएको हप्तादेखि नै अर्डर लिन सकिएको छैन । सुनको भाउ घट्नु र तीज नजिकिनु सँगै भएकाले सुनको माग बढेको हो । 

तर बजारमा अहिले मागभन्दा १५ प्रतिशत सुनको अभाव भएको छ । यसले गर्दा माग अनुसार गहना बनाउन नसकिएको शाक्यले बताउनुभयो । २५ प्रतिशत ग्राहकले पुरानै सुनलाई फेरि नयाँ डिजाइन अनुसार गहना बनाउने गरेका छन् ।  यति गर्दा पनि बजारमा सुनको माग धान्न सकिएको छैन ।

अहिले सुन व्यवसायीले बैंकमार्फत दैनिक १५ देखि २० किलो सुन आपूर्ति गरिरहेका छन् । अफ सिजनमा यति आपूर्तिले धाने पनि सिजनका बेला अभाव हुने गरेको छ । व्यवसायीले माग र आपूर्तिमा तालमेल नमिलेको भन्दै सुनको कोटा बढाउन माग गरिरहेका छन्  ।

तर यसबारे राष्ट्र बैंकले कुनै निर्णय गरेको छैन ।

यो वर्ष लागेपछि महंगिएको सुन अहिले भने सस्तिएको छ । गएको वैशाख महिनामा तोलामा ५९ हजार २ सय रुपैयाँसम्म पुगेको सुनको भाउ साउन महिनाको अन्तिमतिर आइपुग्दा ३ हजार २ सय रुपैयाँले घटेको छ । बजारमा अहिले सुन तोलामा ५६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया