बाँकेमा रासायनिक मलको अभाव

 साउन २८, २०७५ सोमबार १४:४८:३५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेमा यूरिया मलको अभाव भएको छ ।

किसानहरु मलका लागि स्थानीय सहकारी हुँदै नेपालगञ्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुग्ने गरेका छन् । कृषि सामाग्री कम्पनीको नेपालगञ्जस्थित कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार पछिल्लो समय मल अभाव भएपछि किसानहरुले मोबाइल र कार्यालयमा फोन गरेर सोधीखोजी गर्ने गरेका छन् ।

कतिपय किसान कार्यालयमै पुग्ने गरेका छन् । गएको साउन २५ गतेसम्म केही न केही भए पनि यूरिया सहकारीलाई उपलब्ध गराउँदै आएको कृषि सामाग्री कम्पनीले तीन दिनयता मल अभावका कारण सहकारीलाई उपलब्ध गराउन सकेको छैन् । 

असार र साउन महिनामा कम्पनीले एक हजार ७ सय ७९ टन यूरिया किसानलाई उपलब्ध गराएको छ । गएको वर्ष दुई महिनामा दुई हजार १ सय १४ टन यूरिया उपलब्ध गराइएको क्षेत्रीय प्रबन्धक बोगटीले जानकारी 
दिनुभयो । 

यसैगरी डीएपी मल गएको वर्ष असार र साउनमा  ६ सय ४५ टन बिक्री भएकोमा यस वर्ष असार र साउनमा  एक हजार ४९ टन बिक्री भएको छ । कृषि सामाग्री कम्पनीमा अहिले १ सय ८३ मेट्रिक टन डीएपी र ९ टन पोटास मल स्टक भए पनि यूरिया भने छैन् । यूरिया मलको खपत मध्ये ५० प्रतिशत भन्दा बढी असारदेखि भदौंसम्म हुने गरेको छ ।

वर्षा भएपछि  किसानहरु  मलको खोजीमा लाग्ने गरेका छन् । कृषि सामाग्री कम्पनीले जिल्लामा रहेका एकसय भन्दाबढी सहकारीलाई रासायनिक मल बिक्री गर्दै आएको छ ।

कृषि सामाग्री कम्पनीबाट मल खरिद गरी सहकारीले गाउँमा किसानलाई उपलब्ध गराउने गरेका छन् । कम्पनीले सहकारीलाई यूरिया प्रति टन  १५ हजार ९ सय २० रुपैयाँ, डीएपी प्रति टन ४४ हजार ९ सय २० र पोटास प्रति टन ३२ हजार ९ सय २० रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । 

कलकत्ता आइपुगेको मल भैरहवा हुँदै एकसाताभित्र आइपुग्ने कृषि सामाग्री कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया