‘घरदैलोमै राहत पाउँदा दुखेको घाउमा मलमपट्टी लागेको अनुभूति भयो’

 साउन २८, २०७५ सोमबार १५:२९:७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जिल्ला प्रशासन कार्यालय लमजुङले असिना र हावाहुरीबाट प्रभावित घरपरिवारलाई राहत प्रदान गरेको छ ।

कार्यालयले गएको वैशाख २५ गते आएको हावाहुरी र असिनाले क्षति पुर्याएको घरपरिवारलाई राहत प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार असिना र हावाहुरीबाट क्षति पुगेका जिल्लाको दोर्दी गाउँपालिका–८, का ३७ घरपरिवारलाई प्रतिघरधुरी १५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिएको हो । 

हावाहुरी र असिनाबाट क्षति पुगेको घरको छाना छाउन जस्तापाता वा अन्य निर्माण सामाग्री खरिदमा राहत रकमले प्रभावितलाई सहयोग पुग्ने छ । ‘प्रभावित परिवारलाई बेसीशहरसम्म आउँदा–जाँदा बढी खर्च लाग्नुका साथै खेतीपातीको समयमा किसानहरुको काममा समेत बाधा पुग्ने देखिएकोले सम्बन्धित ठाउँमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो,’ प्रजिअ ढकालले भन्नुभयो । 

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसमा गृह मन्त्रालयको २०७५ जेठ ४ गतेको पत्रबाट प्राप्त निर्देशानुसार काम अघि बढाइएको थियो । सोही अनुसार सम्बन्धित ठाउँमै पुगेर प्रभावितलाई राहत रकम प्रदान गरिएको हो ।

घरदैलोमै राहत पाउँदा दुखेको घाउमा मलमपट्टी लागेको अनुभूति भएको भन्दै प्रभावितहरुले खुशी व्यक्त गरेका छन् । ‘राहत लिन सदरमुकामसम्म धाउनु परेन । घरदैलामै राहत पाइयो । हामी प्रभावित निकै खुशी छौँ,’ हावाहुरीबाट प्रभावित दोर्दी गाउँपालिका–८, की चिनमाया मगरले खुशी मुद्रामा भन्नुभयो ।

स्थानीयका अनुसार वैशाख महिनामा परेको असिनाले गाउँका घरका टिनको छानामा प्वाल पारेको थियो । राहत पाइने÷नपाइने बारेमा जानकारी नभएका कारण आफूहरुले  ढिलो गरी जिल्ला प्रशासन कार्यालयमा यसबारे जानकारी गराएको स्थानीय प्रभावित बताउँछन् । 

प्रभावितबाट जानकारी प्राप्त हुने बित्तिक्कै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय लमजुङ र स्थानीय सरकारलाई क्षतिको यथार्थ व्यहोरा खुल्ने गरी मुचुल्का, सिफारिसलगायतका कार्यका लागि अनुरोध गरेको थियो ।     
 

अन्तिम अपडेट: चैत २३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया