९५ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति

 साउन २८, २०७५ सोमबार १७:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सोमबार बसेको बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न अनुमति दिएको हो । प्रविणता प्रमाण पत्रसम्मको अध्ययन हुने गरी प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न थप ९५ वटा सामुदायिक विद्यालयलाई पनि अनुमति दिने निर्णय गरिएको सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो ।

सरकारले यसअघि २ सय १७ वटा सामूदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिइसकेको छ । सदस्य सचिव वाग्लेले काठमाडांैमा पत्रकार सम्मेलन गरी ८ वटा आंगिक बहुप्राविधिक शिक्षालयहरुलाई पनि पूर्वाधारको विकास गरी कार्यक्रम विस्तार गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।

सीटीईभीटीले साझेदार संस्थाहरुलाई पशुविज्ञान तर्फको ३ वर्षे डिप्लोमा कार्यक्रम संचालन गर्न पनि अनुमति दिएको छ । त्यसैगरी सिटिईभीटीले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे नर्सिङ कोर्ष संचालन गर्न आवश्यक पूर्वाधार निरीक्षण गर्न कार्य दल पनि गठन गरेको छ । कार्य दलले निरीक्षण गरेपछि सो अस्पतालमा ३ वर्षे डिप्लोमा नर्सिङ कोर्ष संचालन हुने पनि सदस्य सचिव वाग्लेले बताउनुभयो ।

सीटीईभीटीले २ वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारेको छ । सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यकता अनुसार प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया