पाँचवटा विधेयक संघीय संसदमा पेश

 साउन २८, २०७५ सोमबार १७:१८:४६ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयका मन्त्रीले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५, राहदानी विधेयक २०७५ , उपभोक्ता संरक्षण विधेयक २०७५ , निवृत्तभरण कोष विधेयक २०७५ पेश गरेका हुन् ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक २०७५ र अर्थमन्त्री युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक २०७५ पेश गर्नुभएको हो ।

राहदानी विधेयक बाहेकका ४ विधेयक माथि परेको विरोधको सूचना वहुमतले अस्वीकृत भएपछि ती विधेयक बैठकमा पेश भएका हुन् । ४ वटै विधेयकमा सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराउनुभएको थियो । त्यसैगरी सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक पनि संघीय संसदमा पेश भएको छ । संसदीय समितिले विधेयकमाथि आवश्यक छलफल गरि सुझाव सहितको प्रतिवेदन बैठकमा पेश गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका तर्फबाट जेष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी बैठकमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धी पनि पेश भएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया