वडाध्यक्षमाथि अख्तियारमा उजुरी, कार्यालयबाट कागजपत्र र बल्ब चोरी !

 साउन २८, २०७५ सोमबार १८:२०:३४ | केसी लामिछाने

पर्सा – वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष श्याबाबु चौरसियाविरुद्ध गएको शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा उजुरी परेको छ ।

उनले अख्तियारको दुरुपयोग गरी राज्यलाई घाटा लगाएको भन्दै उजुरी परेको हो । वडाध्यक्ष चौरसियाले एउटै कित्ताको जमिनको घरबाटो दुई पटक प्रमाणित गरेको आरोप लागेको छ । घरबाटो प्रमाणित गर्दा जग्गाको मूल्याकंन कम हुने गरी गरेकोले अख्तियारको दुरुपयोग गरेको भन्दै उनीमाथि उजुरी परेको हो ।

 
 
घटना विवरण अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनरुवा निवासी जहरती मिया धुनियाँले कित्ता नम्बर ३२८ मा रहेको २ कट्ठा ३ धुर ८ कनवा जग्गाको घरबाटो प्रमाणित गरी पाउँ भनेर २०७४ चैत १३ गते वडा समितिको कार्यालयमा निवेदन दिनु भएको थियो ।

निवेदकले आफ्नो निवेदनमा २८ फिटको पीचबाटो भएको उल्लेख गर्नु भएको छ । वडा समितिले त्यति बेला वीरगञ्ज महानगरपालिका कार्यालयबाट प्राविधिक झिकाई घरबाटो प्रमाणित गरी सिफारिस दिएको थियो ।

सिफारिसमा जग्गा खाली रहेको तर २८ फिटको पिच बाटोसँग जोडिएको प्रमाणित सिफारिस थियो । पिच बाटोसँग जोडिएको जमिनको  सरकारी मुल्याकंन ६० लाख रुपैयाँ प्रतिकठ्ठा रहेको छ ।

यही दरमा जग्गा नामसारी हुँदा जग्गा रजिष्ट्रेसन दस्तुर धेरै लाग्ने भएपछि वडाध्यक्ष चौरसियाले अर्को सिफारिस दिनु भएको हो ।


 
वडाध्यक्ष चौरसियाले आफैले पहिला दिएको सिफारिसलाई उल्टाउँदै सार्वजनिक पदको दुरुपयोग गरेरे पुनः त्यही जग्गामा १५ फिटको ग्राभेल बाटो रहेको भन्दै २०७४ चैत १६ गते घरबाटो  प्रमाणित गरिएको अर्को सिफारिस दिनुभयो  ।

महानगरपालिकाको प्राविधिकको सिफारिस नभई वडाध्यक्षले घरबाटो प्रमाणित गरिदिने कानूनी अधिकार वडाध्यक्षलाई दिएको छैन । तर पछिल्लो सिफारिसपछि प्रतिकठ्ठा ६० लाख मुल्याकंन रहेको जग्गा १४ लाख प्रतिकट्टा मुल्याकंनमा झर्‍यो ।

आर्थिक नजराना  आफूले लिएर राज्यलाई आउने राजस्व चुहावट गरेको भन्दै उहाँ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।  १ करोड ३० लाख ५० हजार रुपैयाँ सरकारी मुल्याकंन रहेको जग्गा वडाध्यक्षको दोश्रो सिफारिसका कारण अहिले ३० लाख ४५ हजार रुपैयाँमा झर्‍यो र त्यसैको अधार जहरती मिया धुनियाले मालपोत कार्यालय पर्सामा २०७४ चैत १९ गते रजिष्टर नम्बर ४६७६ (क) मा स्थानीय व्यान्ती देवीको नाममा राजीनामा लेखाई उक्त जग्गा पास गराइदिनुभयो ।
 
वडा अध्यक्ष चौरसियाले देशको अर्थतन्त्र कमजोर पार्ने कार्य गरी आफूलाई फाइदा देशलाई नोक्सान हुने गरी राजश्व चुहावट गराइ दोहरो सिफारिस गरी पदको दुरुपयोग गरी भ्रष्टचार गरेको भन्दै अख्तियारमा गएको शुक्रबार लिखित उजुरी परेको छ ।

वडा कार्यालयमा चोरी

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को वडा समितिको कार्यालयमा गएको शुक्रबार चोरी भएको छ ।

चोरको समूहले वडा समितिको कार्यालयबाट ३—४ वटा सीएफएल एलइडी बल्ब मात्र चोरी गरेर लगेका छन् । यो चोरीको घटना सुन्दा अचम्मै लागेको स्थानीयले बताएका छन् । चोरीका लागि चोरले किन वडा समिति कार्यालय नै छाने भन्ने प्रश्न यतिवेला नगरवासीमा उब्जेको छ ।
 
अझ अनौठो त्यतिबेला लाग्यो, जतिबेला  चोरले कार्यालयबाट बैठकको निर्णय लेख्ने पुस्तिका  र केही महत्वपूर्ण कागजातमा चोरेको हल्ला चल्यो ।  वडाका वडा अध्यक्ष श्यामबाबु चौरसियाले  कार्यालयबाट  एउटा निर्णय पुस्तिका र केही थान बल्ब चोरी भएको बताउनुभयो ।

तर वडा समितिका सचिव हरेराम चौधरीले कार्यालय भित्र रहेको सीएफएल एलइडी बल्ब मात्र चोरी भएको बताउनुभयो । वडाको विभिन्न पोलमा जडान गर्न ल्याइएको एलइडी बल्ब मध्ये ३—४ वटा बल्ब मात्र चोरले चोरी गरेर लगेको चौधरीको भनाई छ ।

उहाँले कार्यालयमा रहेका सम्पूर्ण महत्वपूर्ण कागजातहरु आफूसँगै भएको हुनाले चोरले कागजातहरु चोर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भने शनिबार बिहानै रामाकान्त चौरसियाका छोरा भीम चौरसियाले चोरीको घटनाबारे आफूलाई फोन गरेर जानकारी गराएपछि आफू घटनास्थल पुग्दा वडा अध्यक्ष चौरसियालगायतका व्यक्तिहरु घटनास्थलमै रहेको बताउनुभयो ।
 
वडा समितिमा भएको चोरीको घटना सुन्दा स्थानीय अगुवा अशोक पटेललाई भने आश्र्चय लागेका छ । उहाँले भन्नुभयो, ‘समितिमा कागज चोर्न चोरहरु जाँदैनन् । घटना रहस्यमय छ यसको छानबिन हुनै पर्छ ।’

स्थानीयले वडा समितिमा चोरी नभई चोरी गराइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । जुन उद्देश्यले चोरी भएको हो, त्यो सफल हुन सकेको छैन, स्थानीय रामाधार चौरसियाले भन्नुभयो, ‘वडा समितिका सचिव चौधरीले सम्पूर्ण महत्वपूर्ण कागजात आफूसँग राखेका कारण योजनाकारहरु असफल भए ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया