तानसेन जीप दुर्घटना : घाइतेलाई थप उपचारका लागि  हेलिकप्टरबाट काठमाडौं पठाइयो

 साउन २८, २०७५ सोमबार १९:५७:४६ | देव पचभैया
unn.prixa.net

पाल्पा – दुई जनाको ज्यान जाने गरी आइतबार पाल्पामा भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

बगनासकाली गाउँपालिका ३ की २६ वर्षीया लक्ष्मी बस्याल र उनका ५ वर्षीय छोरा नवीनको अवस्था जटिल रहेकोले थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको मिसन अस्पताल पाल्पाकी निर्देशक डाक्टर रचेल कारकले जानकारी दिनुभयो । 

तानसेन नगरपालिका –४, बडिज्ञानटोलमा ग १ च ६७४८ नम्बरको पिकअप जीप ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा बगनाकाली गाउँपालिका –३, का ८ महिने बालक निशान्त बस्याल र तानसेन –६, बर्तुङ्गकी कमला पाण्डेको ज्यान गएको थियो । 

अर्का घाइते नवलपरासी सुनवल नगरपालिका –२, प्रगतिटोलका ५१ वर्षीय रामजी चौधरीको युनाइटेड मिसन अस्पताल तानसेनमै उपचार भइरहेको छ । ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया