काठमाडौंको फोहोर व्यवस्थापनमा ४ अर्बको परियोजना, मासिक २ सय १९ रुपैयाँ तिर्नैपर्ने

 साउन २९, २०७५ मंगलबार ८:४९:२० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौंको फोहोर व्यवस्थापनको लागि एक निजी कम्पनीले ४ अर्ब रुर्पैयाँ लगानी गर्दैछ ।

यही साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले काठमाडौंको फोहोर एकीकृत ढंगले ब्यवस्थापन गर्नको लागि नेपवेष्टसँग परियोजना विकास सम्झौता गरिसकेको छ । अबको केही समयपछि काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकाबाहेक काठमाडौं महानगरपालिकासहित ९ वटा नगरपालिकाको फोहोर निजी क्षेत्रको नेपवेष्ट कम्पनीले नै व्यवस्थापन गर्नेछ । 

हरेक परिवारले मासिक २ सय १९ रुपैँया तिर्नुपर्ने 

लगानी बोर्ड र नेपवेष्टबीच भएको परियोजना विकास सम्झौता पीडीएमा सम्झौता भएको ३ महिनापछि काठमाडौंको फोहोर कम्पनीले नै व्यवस्थापन गर्ने उल्लेख छ ।

कम्पनीले व्यक्तिका घरबाट फोहोर उठाउने मात्र होइन काठमाडौंका सार्वजनिक स्थान पनि सफाइ गर्नेछ । सम्झौता भएको ३ महिनाभित्र नगरपालिकाहरुले फोहोर व्यवस्थापनको लागि  आफूले प्रयोग गर्दै आएका उपकरण नेपवेष्टलाई दिने पनि परियोजना विकास सम्झौता पीडीएमा उल्लेख छ । 

पीडीएमा नेपवेष्टले हरेक परिवारबाट मासिक २ सय १९ रुपैयाँ फोहोर व्यवस्थापन गरेवापत शुल्क लिन पाउने उल्लेख गरिएको छ । यो रकममा कम्पनीले वर्षेनि ५ प्रतिशत बढाउन पनि पाउनेछ । त्यसोभए हरेक कोठामा बस्नेले मासिक २ सय १९ रुपैयाँ तिर्नुपर्छ त ? नेपवेष्टका निर्देशक समिर नेवाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हरेक कोठामा बस्नेले मासिक २ सय १९ रुपैयाँ तिर्नुपर्दैन, ५ जनाको सदस्य बराबर एक परिवार मानेका छौं, २ वटा कोठामा बस्ने ५ जना मिलेर २ सय १९ रुपैयाँ तिरे पनि पुग्छ ।’ 

साढे ४ अर्बको परियोजना 

काठमाडौंको फोहोर व्यवस्थापनको लागि नेपवेष्टले ४ अर्ब रुपैयाँ लगानी  गर्ने बताएको छ । सरकारले बञ्चरे डाँडामा नयाँ ठाउँ नबनाएसम्म नेपवेष्टले पनि अहिले जस्तै टेकुमा फोहोर संकलन गरेर सिसडोलमै फाल्नेछ । तर बञ्चरे डाँडामा ठाउँ तयार भएपछि भने नेपवेष्टले फोहोरमा ‘जेरो वेष्ट म्यानेजमेन्ट’ अर्थात १ प्रतिशत फोहोरलाई पनि खेर जान नदिने योजना बनाएको छ । 

सम्झौतामै २० प्रतिशत फोहोर मात्रै ल्याण्डफिल्ड साइटमा फाल्न पाइने उल्लेख भएको छ । त्यसैले नेपवेष्टले कुहिने फोहोरबाट ग्यास उत्पादन गर्नेछ, ग्यास उत्पादन भएर बाँकी रहेको कुहिने फोहोरबाट जैविक मल बनाएर बिक्री गर्नेछ । नकुहिने फोहोरको पुनपर्योग गर्नेछ । त्यसका  लागि नेपवेष्ट आफैले विभिन्न उद्योग खोल्नेछ । यस्तै फोहोरको रुपमा फालिएका पलाष्टिकबाट कम्पनीले आकर्षक सामग्री पनि बनाउने छ । 

‘फोहोरमा जेरो वेष्ट म्यानेजमेन्ट अवधारणा ल्याएका छौं, हामीले सकभर कुनै पनि बस्तुलाई फोहोर भनेर मिल्काउने छैनौं, सबै फोहोरलाई मोहोरमा बदल्नेछौं’ नेपवेष्टका निर्देशक समिर नेवाले भन्नुभयो, ‘हामीले फोहोर फाल्ने बस्तु हैन सम्हाल्ने बस्तु हो भन्ने सन्देश पनि दिन खोजेका छौं ।’ 

कम्पनीको मासिक कमाइ १५ करोड, सरकारलाई बार्षिक ५ करोड ! 

अहिले काठमाडौंबाट ६४ वटा निजी कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् । यस्ता कम्पनीले हरेक कोठामा बस्नेहरुबाट मासिक १ सय ५० देखि ३ सय रुपैयाँसम्म लिँदै आएका छन् । त्यस्ता कम्पनीको तथ्याँकअनुसार काठमाडौंमा ५ लाख परिवार छन् । 

नेपवेष्टले ५ लाख परिवारबाट मासिक २ सय १९ रुपैयाँ लियो भने पनि उसले मासिक १० करोड ९५ लाख  रुपैयाँ उठाउने छ । तर अहिले पनि काठमाडौंमा झण्डै ५० हजार परिवारबाट फोहोर नउठाइएकोले नेपवेष्टले त्यस्ता कम्पनीलाई पनि शुल्कको दायरामा ल्याएर मासिक १५ करोड रुपैयाँ उठाउने योजना बनाएको छ । ठूला व्यवसायीबाट भने नेपवेष्टले छुट्टै सम्झौता गरेर रकम उठाउन पाउनेछ । 

तर कम्पनीले सरकारलाई वार्षिक ५ करोड रुपैयाँ मात्रै तिर्ने सम्झौता पीडीएमा भएको छ । तपाईंहरुले त्यतिधेरै रकम उठाउँदा सरकारलाई जम्मा ५ करोड मात्रै तिर्नुपर्ने भए नि भन्ने प्रश्नमा नेपवेष्टका निर्देशक नेवाले भन्नुभयो, ‘हामीले ४ अर्ब त पूर्वाधारमा मात्रै खर्च गर्दैछौं, कर्मचारी, उपकरण लगायतमा पनि खर्च हुन्छ, हामीले तत्कालको नाफालाई भन्दा पनि दीर्घकालिन फाइदा हेरेर मात्रै काम गर्दैछौं ।’ 

नगरपालिकासँग सम्झौताको तयारी 

नेपवेष्टसँग परियोजना विकास सम्झौता गरिएको लगानी बोर्डले अब अरु नगरपालिकासँग पनि छलफल गरिरहेको छ ।

लगानी बोर्डले अरु नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि मात्रै नेपवेष्टले फोहोर व्यवस्थापन गर्नेछ । नगरपालिकाले कति फोहोर उठाइरहेका छन्, उनिहरु नेपवेष्टलाई फोहोर व्यवस्थापनको जिम्मा दिन तयार छन कि छैनन् लगायतका विषयमा छलफल भैरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभयो । ‘जतिसक्यो छिटो फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टमा दिनेगरी हामीले अरु नगरपालिकासँग पनि सम्झौताको तयारी गरेका छौं, अब केही दिनभित्रै अन्तिम टुंगो लाग्नेछ’ वाग्लेले भन्नुभयो । 

परियोजना विकास सम्झौता अनुसार काम भयो भने अबको केही महिनाभित्र काठमाडौंको कीर्तिपुर नगरपालिका बाहेक सबै नगरपालिकाको फोहोर नेपवेष्ट कम्पनीले व्यवस्थापन गर्नेछ । कम्पनीले नै काठमाडौंका मुख्य सडक सफा गर्नेछ । मन्दिर, पाटीपौवा लगायतका सम्पदाको सरसफाई पनि नेपवेष्टले गर्नेछ । 

 

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

नेपालकाे पहिलाे 'सब वे' कलंकीमा, ३० सेकेन्ड मात्र राेकिनु पर्ने 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया