विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले झापामा गराए बम विष्फाेट

 साउन २९, २०७५ मंगलबार १२:५२:४६ | सुश्मा राजवंशी
unn.prixa.net

झापा - नेत्र बिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय भवन नजिकैकाे सडक किनारामा सुतली बम विस्फोट गराएका छन् ।

विप्लव नेतृत्वकाे नेकपाका दुईजना कार्यकर्ताले मंगलबार बिहान ६ बजे बम राखेर हिँडेको केही बेरमै विस्फोट भएको स्थानीयले बताएका छन् ।  

यसैबीच मंगलबार नै गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक पनि बम विष्फोट भएको छ । ग्वालडुब्बा बजारकाे पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो ।

विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताउनुभयो ।

यसै क्रममा दमकबाट साेमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा दुई कार्यकर्ता पक्राउ परेका थिए । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया