माइक्रो र ट्याम्पो चल्ने रुटमा ठूला बस, दिगो यातायातका १७ बस सञ्चालनमा

 साउन २९, २०७५ मंगलबार १५:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंमा १७ वटा दिगो यातायातका बसहरु सञ्चालनमा आएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरेपछि बस सञ्चालनमा आएको हो । बस नयाँ बसपार्क, गोंगबु चोक, गल्कोपाखा चोक, लैनचौर, केशरमहल, जमल, तिनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो वानेश्वर हुँदै  सिनामंगल पुग्नेछन् ।

फर्कंदा सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, शहिदगेट, जमल, लैनचौर, गल्कोपाखा चोक, गोंगबु चोक हुँदै नयाँ बसपार्क पुग्नेछन । विहान ५ बजेदेखि राती ९ बजेसम्म बस चल्ने समितिका सचिव लालप्रसाद गुरागाईंले बताउनुभयो ।

बसमा ह्विलचेयरको समेत व्यवस्था छ । बसमा फ्री वाइफाई, विद्युतीय टिकेट प्रिन्ट, एलईडी टिभी, सिसी टिभी र यात्रुलाई थप सुविधाको लागि रुटको नक्सा समेत राखिएको छ । एसियाली विकास बैंक एडीबीको सहयोगमा बनेको काठमाडौं दिगो सहरी आयोजनाले बस सञ्चालन सुरु गरेको हो ।

यो रुटमा पहिले चल्दै आएका सामाखुसी यातायातका ९५ माइक्रोमध्ये २६ वटा माइक्रो र सफा ट्याम्पो परिवहनका ३५ वटा ट्याम्पोलाई बिस्थापन गर्दै दुइटै यातायात व्यवसायीहरुसँग सम्झौता गरेर दिगो यातायातले यस रुटमा ठूला बस सञ्चालनमा ल्याएको हो ।

विस्थापन गरिएका माइक्रो र ट्याम्पोलाई चक्रपथ बाहिरका साना रुटमा सारिएको छ । सामाखुसी यातायात प्रालिका बाँकी ६९ वटा माइक्रो भने अहिले यही रुटमा चल्ने छन् । यातायात व्यवस्था विभागका इञ्जिनियर शरद आचार्यले सम्भाव्यता अध्ययन गरेर नै बसहरु सञ्चालनमा ल्याएको बताउनुभयोे । उहाँले भन्नुभयो, ‘२६ वटा माइक्रो र ३५ वटा ट्याम्पोको ठाउँमा १७ वटा बस  ल्याउँदा त्यसले झनै मास ट्रान्सपोर्टेसनलाई खुकुलो पार्छ ।’

पछि बिस्तारै यातायात विभागसँग सम्झौता गरेर ती माइक्रोलाई पनि हटाएर थप बस ल्याउने योजना रहेको सचिव गुरागाईंले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

3 Comments

  • Bharat Kumar Sunar

    Aug. 15, 2018, 7:51 a.m.

    माइक्रो र टेम्पोहरु काम गरे काठमाण्डौको प्रदूषण पनि कम हुने थियो कि ओली सरकार /

  •  0 Reply
  • मोहन पल

    Aug. 14, 2018, 9:15 p.m.

    ठूला बस चल्दा यात्रुलाई सहज हुन्छ साथै सडकमा सवारी चाप पनि कम हुन्छ । यो कामले निरन्तरता पाओस् शुभकामना ।

  •  0 Reply
  • Jaya krishna

    Aug. 14, 2018, 4:03 p.m.

    बढ्दो सवारी चाप तथा प्रदुषण नियान्त्रण गर्न अन्य रुटमा पनि यस्तै ठुला बस संचालनमा ल्याउन पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया