नागरिकलाई सरकारले करको मारमा पार्दैन : अर्थमन्त्री खतिवडा

 साउन २९, २०७५ मंगलबार १६:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठकाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सर्वसाधारणलाई करको मारमा पर्न नदिन सरकार सचेत रहेको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय, प्रदेश र संघीय सरकारबीच देखिएको करसम्बन्धी विवाद छिट्टै समाधान गर्ने आश्वासन पनि दिनुभयो । उहाँले कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धी निर्णय लिएको उल्लेख गर्दै त्यसमा सुधार गर्न सरकारले आन्तरिक छलफललाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले संविधानले व्यवस्था गरे अनुसार कर कार्यान्वयनमा ल्याएको पनि स्पष्टिकरण दिनुभयो । उहाँले संविधानमा व्यवस्था भए बमोजिम कर असुली गर्ने विषयमा कुनै समस्या नरहेको दाबी गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि हुने गरी योजना अघि सारेको स्पष्ट पार्नुभयो । उहाँले आयात प्रतिस्थापन नगरी मुलुकको व्यापार घाटालाई कम गर्न नसकिने भएकाले सरकारले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको स्मरण गराउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले आर्थिक समृद्धिका लागि व्यापार घाटा कम गर्न, वैदेशिक लगानी भित्रयाउन विशेष जोड दिन अर्थमन्त्री खतिवडाको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यापार घाटा कम गर्न १० वर्षे योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले आफ्नो उत्पादन बढाएर मात्रै व्यापार घाटा कम गर्न सकिने स्मरण गराउनुभयो ।

समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई प्रभावकारी बनाउने गरी ऐन संशोधन गर्न माग गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका उहाँले लगानी बोर्डलाई प्रभावकारी नबनाई वैदेशिक लगानी भित्र्याउन नसकिनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

समितिका सदस्य घनश्याम भुसालले देशलाई समृद्ध बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले करले नागरिकको मनोविज्ञान नबिगार्न सरकारलाई सचेत हुन पनि आग्रह गर्नुभयो ।

समितिका सदस्यहरुले करसम्बन्धी विवाद समाधान, व्यापार घाटा न्यूनिकरण, लगानी वृद्धि र विकास, निर्माणको कामलाई तीव्रता दिन ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया