हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा बम फेला, बसमा समेत आगजनी

 साउन २९, २०७५ मंगलबार १६:२१:२३ | उज्यालो सहकर्मी

मकवानपुर – हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नचिनेका मानिसहरुको समूहले बम राख्दै बससमेत जलाएका छन् ।

मंगलबार त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका–११, टिस्टुङमा नचिनेका मानिसको समूहल बसमा आगजनी गरेका हुन् । यस्तै हेटौंडा ११ स्मारक जाने बाटोमा प्रेसर कुकर बम फेला परेको छ ।

पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको भन्सार छुटेको बसमा नचिनेका मानिसहरुको समूहले टिस्टुङको देउरालीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो । बसमा यात्रु नभएकाले मानवीय क्षति नभएको जनाइएको छ । 

मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेकामा त्यसको अवज्ञा गरेको भन्दै बन्दकर्ताले पूर्वपश्चिम राजमार्ग अन्र्तगत मनहरीमा केही सवारीसाधनमो तोडफोड गरेको प्रहरीले जनाएको छ । 

यसै क्रममा हेटौंडा उपमहानगरपालिका–११, नवलपुरको सडक छेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । बमलाई सुपारेटारबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरे पनि हेटौंडामा सवारीका साधन भने सञ्चालन भएका छन् । यसैगरी मनहरी गाउँपालिकाको खरैङगामा मंगलबार बिहान सडकमा गुडिरहेको टिपरमा केही व्यक्तिले बम हान्न खोज्दा टिपर अनियन्त्रित भएर सडक बाहिर नालीमा पुगेको थियो । 

टिपरलाई प्रहरीले के्रनको सहायताले निकालेर गन्तव्यमा पठाएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । यसैगरी थाहा नगरपालिकाको देउरालीमा रुख ढालेर बाटो अवरुद्ध बनाइए पनि प्रहरीले पन्छाएर सडक खुलाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया