पारस बने एक्सपर्ट एजुकेसनका ब्राण्ड एम्बेस्डर

 साउन २९, २०७५ मंगलबार १८:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली क्रिकेटका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।

‘लेट्स प्रमोट नेपाली क्रिकेट टुगेदर’ को नारासहित नेपाली क्रिकेटको विकासमा अघि बढ्दै आएको एक्सपर्टले कप्तान पारस खड्कालाई तीन वर्षका लागि सद्भावना दूत बनाएको हो । आज काठमाडौंमा आयोजित कार्यक्रममा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेटका सईिओ सञ्जिव शर्मा र कप्तान खड्काब्ीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौताको रकम भने गोप्य राखिएको सईिओ शर्माले बताए । सम्झौताबापत आफ्नो भूमिकाका बारेमा पनि प्रस्ट नपारे पनि कप्तान खड्काले नेपाली क्रिकेटको विकासमा एक्सपर्टको साथ दिने प्रतिबद्धता वयक्त गरे । कार्यक्रममा बोल्दै कप्तान खड्काले एक्सपर्टको यो साथले सबै खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्नका लागि प्रेरणा मिल्ने प्रतिक्रिया दिए ।

‘नेपाली क्रिकेट जहाँ छ, त्यो समर्थकको मायाले गर्दा हो । पत्रकारको भूमिका पनि महत्वपूर्ण छ । त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु,’ कप्तान खड्काको भनाई छ ।

‘बिनालगानी नेपाली क्रिकेट यहाँसम्म आइपुगेको छ । अब नेपालको लक्ष्य विश्वकप र टेस्ट खेल्नु हो । एक्सपर्टसँग आबद्ध हुन पाउँदा निकै हर्षित छु’, कप्तान पारस खड्काले भने ।

एक्सपर्टका सीईओ सञ्जिव शर्माले सबै व्यापारिक प्रतिष्ठानले सामाविक उत्तरदायित्व वहन गर्नुपर्ने धारणा राखे । ‘हामीले सीएसआरको संस्कृति विकास गर्दै त्यसलाई बढावा दिनु पर्दछ ।’

‘पारस खड्का प्रतिनिधि मात्र हुन् । उनलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्दा हामीले पूरा क्रिकेट टिमलाई साथ दिइरहेका छौँ’, सीईओ शर्माले भने ।

एक्सपर्टले भेट्रान क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीलाई पनि सहयोग गरेको छ । कार्यक्रममा सीईओ शर्माले शक्ति गौचनलाई एक लाख पचास हजारको चेक हस्तान्तरण गरे । ‘एकेडेमी स्थापना गरेको नौ वर्ष भइसक्यो । २–३ वटा कम्पनीमा गएँ, फाइल दिएँ तर जवाफ आएन । उत्कृष्ट क्रिकेटर उत्पादन गर्ने मेरो लक्ष्यमा साथ दिनुभएकोमा एक्सपर्ट परिवार प्रति आभार व्यक्त गर्दछु,’ चेक लिएपछि शक्तिले प्रतिक्रिया दिए ।

खेल पत्रकारलाई पनि अवार्ड

कार्यक्रममा एक्सपर्टका सीईओ सञ्जिव शर्माले खेलपत्रकारलाई अवार्ड प्रदान गरिने घोषणा गरे । पत्रकारिताका मध्यमबाट खेलकुदको विकासमा पत्रकारिताका क्षेत्रबाट योगदान पुर्‍याउने एक जना खेलपत्रकारलाई सम्मान गरिने बताए । यो वर्षदेखि प्रदान गरिने सो अवार्डको राशी पचास हजार रुपैयाँ रहनेछ ।

सम्झौता कार्यक्रममा एक्सपर्टका पदाधिकारी, खेलाडीसँगै खेल समर्थकको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात कप्तान खड्काले समर्थकहरुसँग साक्षात्कारमा सहभागिता जनाएका थिए ।

एकदिवसीय मान्यता पाएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित खड्काले समर्थकले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया