तीन आमालाई पुत्रवियोग, सबै आमा भन्छन् : नमारिदिएको भए हुन्थ्याे

 साउन २९, २०७५ मंगलबार १९:२६:११ | उज्यालो सहकर्मी

भक्तपुर – गएको २० गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर –९, काँडाघारीबाट भएको अपहरण एवं हत्या काण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।

काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्या पछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । 

नुवाकोट समरीका २४ वर्षीय अजय तामाङकी ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा डुब्नु भएको छ । उहाँ मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षकी श्रीमती रजनी तामाङको अवस्था झन नाजुक छ । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छिन् । 

अजयकी आमा कासाङ्ग भन्नुहुन्छ, ‘मेरो छोरा अपराधी नै भए पनि नमारिदिएको भए हुन्थ्यो, उ मारिँदा मैले मात्रै छोरा गुमाइनँ, मेरी बुहारीले लोग्ने गुमाई, सानी नातिनीले आफ्नै बाबु गुमाई, उसलाई जति भए पनि सजाय दिएको भए हुन्थ्यो, जेलमै भए पनि छोरा बाँचेको छ त भन्न पाइन्थ्यो ।’

‘अपराधी नै भए पनि आमाबुबाको लागि छोरा प्यारो नै हुन्छ’, अजयका बाबु निमाले भन्नुभयो, ‘छोराको शव ल्याएर दाहसंस्कार सकियो तर अजयकी आमा र श्रीमतीलाई सम्झाउन सकिएन, यी दुईको पीडा हेरेर मलाई पनि बाँच्न गाह्रो भो ।’

विदेशमा बस्दा पनि राम्रोसँग कमाई गर्न नसकेको र काठमाडौंमा पनि राम्रो कमाई भएन भनेर घरमा भन्ने गरेको बताउँदै उहाँले छोराले बेलाबेलामा आठ–दश हजार रुपैयाँ पठाउने गरेको बताउनुहुन्छ । ‘हामीलाई त उसको कमाईको कुनै मतलब थिएन, उसको श्रीमती र छोरीलाई पुगे भैहाल्थ्यो, अब त त्यो पनि सकियो, बुहारीलाई खै कसरी सम्झाउनु’, निमा भन्नुहुन्छ ।

वैदेशिक रोजगारीमा इराक र मलेसियामा बस्दा भेट भएका सिन्धुपाल्चोक मासखर्कका २३ वर्षीय गोपाल तामाङसँगको सल्लाहले नै काठमाडौंमा गएर अजयले घरमा रंग लगाउने काम गर्न थालेको उहाँको भनाई छ ।

यता बालक निशानको अपहरण र हत्या घटनामै प्रहरी ईन्काउण्टरमा मारिएका अजयको साथी गोपालको आमाको अवस्था पनि उस्तै छ । इन्काउण्टरमा छोरा मारिएको नौ दिन बितिसक्दा पनि गोपालकी आमा छिन्डोमा तामाङको आँखा ओभाएको छैन । 

कक्षा ८ मै पढाई छाडेर दुईपटक त इराक, एक पटक दुबई र मेलेसिया बसेर आए पनि सन्तोषजनक रुपमा पैसा कमाउन नसकेपछि घर खर्च धान्ने, भाइबहिनीलाई पढाउने गोपाल नै भएको उहाँ बताउनुहुन्छ । 

‘भाइबहिनी हुर्केपछि बिहे गर्छु, अहिले कमाएको पैसा मेरो उपचारमै सकिन्छ भन्थ्यो, बेला बेलामा घरमा आमा भन्दै आइपुग्थ्यो, ल्याएको आठ दश हजार पैसा छाडेर जान्थ्यो, शुक्रबार कि शनिबार सधैँ घरमा फोन गथ्र्यो’, आमा छिन्डोमा भन्नुहुन्छ, ‘मेरो छोरा भाग्नै खोजेको भए पनि घुँडामुनि गोली हानेर समातेरको भए हुन्थ्यो, नमारेको भए हुन्थ्यो ।’

छोरा मारिएको खबर २१ गते पाए पनि विश्वास नलागेर २२ गते टिचिङ्ग अस्पतालमा पुगेर शव हेरेपछि मात्रै आफूलाई विश्वास लागेको बताउने उहाँ गोपालको शव काठमाडौंमा दाहसंस्कार गरेर फर्किए पनि छोरा बिर्सन नसकेको बताउनुहुन्छ । 

अपहरणमा परि हत्या गरिएका ११ वर्षका बालक निशान खड्काको आमा चमेलीको अवस्था झन कारुणिक छ । श्रीमान् गणेश वैदेशिक रोजगारीमा गएपछि काठमाडौंमा दुई छोरी र एक छोराको जिम्मेवारी सम्हाल्दै खाजा पसल सञ्चालन गर्दै आउनु भएकी चमेलीको एक मात्र छोरोको अपहरण पछिको बिभत्स हत्याले उहाँ निकै मर्माहित हुनुभएको छ । 

एकैछिन अगाडिसम्म खाजा खाएर अगाडि नै खेल्दै गरेको छोराको आफ्नै पसरलमा आउने नियमित ग्राहक र चिनजानका व्यक्तिले नै एकैछिनमा अपहरण गर्लान् भन्ने भेउसमेत नपाउँदै अपरहण गरी हत्या गरेपछिको पीडा सहन उहाँलाई निकै गाह्रो भएको छ ।

जतिखेर पनि ‘मेरो बाबु, मेरो छोरा’ भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । ‘आमा म एकछिन खेलेर आउँछु है, भन्दै खेल्न गएको छोरा फर्कदैन भन्ने के थाहा थियो र ? मेरो बाबु म कसरी बिर्सनु ।’ उहाँको पीडा उत्तिकै झल्कन्छ । अपहरण गरे पनि सँगै खेलेको, खाएको त्यो बालकलाई अपराधीहरुले नमारिदिएको भए पनि हुन्थ्यो नि भन्ने चमेलीको अवस्था निकै कारुणिक बनेको छ । 

लोभ, लालच र आपराधिक मानसिकताले जन्मिएको बालक अपहरण र हत्या घट्नाले अन्तत: तीनवटी आमालाई सधैँका लागि पीडा दिएर गएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया