निसीखोलामा पहिरोले घर पुरिँदा दुईजना बेपत्ता

 साउन ३०, २०७५ बुधबार ११:४१:४६ | दिल शिरीष
unn.prixa.net

बागलुङ – जिल्लाको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा दुईजना बेपत्ता भएका छन् ।

निसीखोला गाउँपालिका ३ धुर्सौलाका मानबहादुर शाहीको घर मंगलबार राति पहिरोले पुरिँदा घरमा रहेका उनकी ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।  

शाहीका पाँच वर्षीय नाति बिवेक शाहीको भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको अवस्था सामान्य रहेको छ । मानबहादुर भने घरभन्दा माथि गोठमा जानुभएकाले सकुशल रहनुभएको छ । उहाँको छोरा दुर्गाबहादुर शाही रोजगारको सिलसिलामा भारतको बैङ्गलोरमा रहेको बताइएको छ । 

घटना स्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् । थप उद्दारको लागि ईलाका प्रहरी कार्यालय, बिहूँ घोँडाबाधेबाट नेपाली सेना, अर्जुनबाण गणको टोली पनि त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दिल शिरीष

बाग्लुङ्गका उज्यालो सहकर्मी दिल शिरीष पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया