सदरमुकाम जोड्ने एक मात्रै पक्की सडक भत्कियो

 साउन ३०, २०७५ बुधबार १४:५७:७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ –  बझाङ जिल्लाकै सदरमुकाम चैनपुरलाई जोड्ने एक मात्र जयपृथ्वी राजमार्गको सदरमुकाम नजिकै सिमखेतमा रहेको पक्की सडक भत्किएको छ । 

केही दिनदेखि लगातार परेको वर्षाका कारण चैनपुर पारी सिमखेत चौर नजिकै ३५ मिटर पक्की सडक भत्किएपछि सदरमुकाम आउने सबै सवारीका साधनहरु बन्द भएका हुन् ।

सिमखेत बसपार्कबाट सदरमुकाम चैनपुर लगायत जिल्लाको उत्तरी भेगमा चल्ने सबै साना तथा ठूला सवारीका साधनहरु सिमखेतमा नै रोकिएका छन् । 

भत्किएको सडकको माथिपट्टी सानो मोटरसाईकल र मान्छेहरु मात्रै आवत जावत गर्ने ठाँउ बाँकी रहेको छ । पानी परिरहेकाे हुँदा बाँकी रहेको एक मिटर सडक खण्ड पनि भत्किन सक्ने सम्भावना रहेको छ ।

बाँकी रहेको सडक भत्किएपछि भने मान्छेहरुलाईसमेत आवतजावत गर्न निकै कठिन हुने छ । 

माथिपट्टी भिर र तलपट्टी बाउली खोला भएका कारण आवत जावत नै बन्द हुने  खतरा रहेको स्थानीय व्यापारी ओमजंग बहादुर बोहराले बताउनुभयो ।

बाउलीखोलाभन्दा एक सय मिटर माथि सडक भएको र पहिरो पनि सडकदेखि खोलासम्म गएको हुँदा मुनीपट्टीबाट खोलाले कटान गरिरहेको छ ।
 
पक्की सडकलाई बचाउनका लागी सिमखेतदेखि बाउली खोलाको पक्की पुलसम्म तटबन्ध गरिएको भए पनि पहिरो गएको ठाँउमा भने पर्खाल तथा तटबन्ध गरिएको छैन ।
 
यता प्रमुख जिल्ला अधिकारी प्रेम सिंँह कुँवरले भने आफूहरुको यस प्रति गम्भीर ध्यान गएको र अबको केही दिनदेखि सडक खुलाउने काम हुने बताएका छन् । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया