१ अर्ब रुपैयाँमा निर्माण हुने भनिएको भूकम्प स्मृति पार्कको बिजोग

 साउन ३०, २०७५ बुधबार १६:५४:१५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – भूकम्प सम्बन्धी अध्ययनका लागि विशाल अध्ययन केन्द्र बन्ने दाबीसहित निर्माण सुरु गरिएको भूकम्प स्मृति पार्क निर्माण कार्य सुस्त भएको छ ।

१२ वैशाख ०७२ मा गएको महाविनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५, दाह्रेगौडामा भूकम्प स्मृति पार्क निर्माणको काम सुरु भएको थियो । 

बहुवर्षीय योजना योजनामै सीमित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा निर्माण हुने पार्क बहुवर्षीय योजनामा निर्माण सम्पन्न हुने भनिएको थियो । पार्क निर्माण गर्नको लागि झण्डै १ अर्बको अनुमानित लागतको योजनासहित शहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।

पार्क निर्माण गर्न शहरी तथा भवन डिभिजन कार्यालयले डीपीआर र डिजाइनसमेत तयार गरिसकेको थियो । अहिले घेराबार लगाइएको स्थानमा भएका गेटहरुको ढोका लगाउन नमिल्ने गरी ढलेका छन् ।

निर्माण कार्यले तीव्रता पाउने भवन डिभिजन कार्यालयले जनाएको दाबी गर्दै आए पनि अहिलेसम्म पार्क निर्माणका लागि कुनै पनि काम भने हुन सकेको छैन् । 
सामुदायिक वनले दिएको जग्गामा घेराबार मात्र लगाइयो

स्थानीय भगवती सामुदायिक वनको ४१ रोपनी क्षेत्रफलमा पार्क निर्माणको लागि घेराबार लगाइए पनि अहिलेसम्म पार्क बन्न सकेको छैन् । पार्कको डिजाइनको लागि मात्रै ३५ लाख रुपैयाँ खर्च भएको डिभिजन कार्यालयले जनाएको छ । ए नट आर्किटेकलाई भूकम्प स्मृति पार्कको डीपीआर जिम्मा दिइएको थियो । 

शिलान्यास भएको एक वर्षपछि भूकम्प स्मृति पार्ककोे निर्माण कार्यको थालनी गर्ने निर्णय भएको थियो तर त्यो निर्णय कार्यान्वयन भने भएको छैन् ।

यस्तो छ पार्कको एनिमेसन

आर्क्टिकेक्चरहरुले कल्पना गरेको पार्कको एनिमेसन सार्वजनिक गरेको पनि लामै समय भइसकेको छ । अत्यन्तै आर्कर्षक रुपले तयार गरिएको एनिमेसनले सबैको मन तान्ने देखिन्थ्यो । पार्कमा भूकम्प स्मृति भ्यु टावर, सूचना केन्द्र, रेस्टुरेन्ट, शौचालय लगायतको भौतिक संरचना बनाउने भनिएको थियो ।

पार्कमा पानीको फोहोरा र त्यो माथि ग्लासको भर्याङ राखेर पानीमाथि हिँडेको कल्पना गर्न सक्ने मनमोहक संरचना समेत निर्माण गर्ने लक्ष्य रहेको थियो ।
पार्कमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा स्टयाचु हुने र त्योमाथि कमलको फूल हुने नक्सामा देखिएको छ ।

अनुसन्धान केन्द्र योजनामै सीमित

पार्क एउटा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना बनाइएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।

अहिलेसम्म नेपालमा गएका सबै भूकम्पको सूचना त्यहाँबाट लिन सक्ने व्यवस्था पनि पार्कमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्प गएको अनुभव हुने कोठाको समेत निर्माण हुने गरी नक्सा बनाइएको थियो ।

दैनिक २ सय बढीले टिकट लिएर पार्कमा प्रवेश गर्न सक्ने गरी पार्कको डिजाइन गरिएको थियो । पार्कमा भूकम्पमा परि ज्यान गुमाएको १४ जिल्लाका सबैको नाम पनि राखिने गरी नक्सा तयार भएको छ ।

भूकम्प स्मृति पार्क साँगाचोकगढीकै समृद्धको आधार भएको बताउने नगरप्रमुखले पनि पार्क निर्माणमा खासै चासो नदेखाको पाइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया