नयाँ मुलुकी ऐन संशोधन नगरे कडा आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

 साउन ३०, २०७५ बुधबार १७:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्माण व्यवसायीहरुले पनि भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन । 

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकी अपराध (संहिता) ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो । महासंघका महासचिव रामशरण देउजाले त्यो ऐन संशोधन नभई लागू गरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो । ऐनमा काममा गुणस्तर नभए निर्माण व्यवसायीलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएकोमा महासंघको आपत्ति छ । 

महासचिव देउजाले व्यवसायीहरुलाई पेशाबाटै पलायन हुनेगरी ल्याइएको मुलुकी अपराध (संहिता) ऐन संशोधन गरेर मात्रै लागू गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सरकारले आउँदो भदौ १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापनका लागि त्यस ऐनसहित ५ वटा ऐन एकैसाथ लागू गर्दैछ ।

महासंघले दिउँसोको समयमा टिप्पर चलाउन नदिने सरकारको निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ । निर्माण सामग्री आपूर्ति गर्न कठिनाई हुने भएकाले त्यो समस्या समाधान गर्न पनि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गरिएको महासचिव देउजाले बताउनु भयो ।

सरकारले एक पक्षीय ढंगले आफूहरुलाई मारमा पार्ने खालको विभिन्न निर्णय लिएको निर्माण व्यवसायीहरुको आरोप छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया