एन्फाको विशेष साधारणसभा सम्पन्न, मताधिकार संख्या थपियो

 साउन ३०, २०७५ बुधबार १८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – केन्द्रीय अधिवेशनमा मताधिकार संख्या १५ थप्दै अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा सम्पन्न भएको छ । 

चितवनको सौराहामा बुधबार सम्पन्न साधारण सभाबाट हाल रहेको मताधिकार संख्यामा १५ थप गर्दै ९२ पुर्‍याउने निर्णय सर्वसम्मत भएको छ ।

विशेष साधारणसभामा सबैभन्दा जटिल र विवादित विषय मताधिकारकै थियो । एन्फाले जिल्लाको मताधिकार केन्द्रमा स्थानान्तरण गर्ने तयारी गरे पनि यसमा धेरै सदस्यले विरोध गरेका थिए । जिल्लाको मताधिकार यथावत राख्दै साधारणसभामा थप पाँच जिल्लाले भाग लिन पाउने गरी विधान संशोधन गरिएको छ ।

यसअघि ४५ जिल्लामा मताधिकार निहित थियो । संशोधनपश्चात अब जिल्लामा ५० मताधिकार रहनेछ । साधारणसभाले प्रदेश ५ मा एक, प्रदेश ६ र ७ मा २–२ मताधिकार थपेको छ । यस्तै सी डिभिजन क्लबको मताधिकार पाँचबाट नौ पुर्‍याइएको छ  भने बी डिभिजनको नौबाट ११ पुर्‍याइएको छ । यस्तै प्रदेशबाट राष्ट्रिय लिग खेल्ने चार टिमलाई पनि मताधिकार दिइएको छ ।

प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको विशेष साधारणसभाले ६ महिनाभित्र प्रदेशको तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

विशेष साधारणसभाले जिल्ला लिग, प्रदेश लिग, अन्तर प्रदेश लिगलाई विधानमा नै उल्लेख गरेको छ । जसअनुसार जिल्ला लिगका उत्कृष्ट टिमले प्रदेश लिग खेल्नेछन् । प्रदेशको उत्कृष्ट टिमले अन्तरप्रदेश लिग खेल्नेछन् । अन्तरप्रदेश लिगको शीष चार टिमले मताधिकार प्राप्त गर्नेछन् । ती चार टिमले ए डिभिजन लिगका शीर्ष चार टिमसँग राष्ट्रिय लिग पनि खेल्नेछन् ।

विशेष साधारण साभाले केन्द्रीय अधिवेशन प्रतिनिधिको संख्या पनि टुंगो लगाएको छ । प्रादेशिक संरचनाअनुसार प्रदेश एकबाट ३०, प्रदेश २ बाट २४, प्रदेश ३ बाट ३३, प्रदेश ४ बाट १८, प्रदेश पाँच बाट १८, ६ बाट ६ र ७ बाट ६ जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउनेछन् ।

अन्य संशोधन

चितवनको सौराहामा सम्पन्न साधारणसभाले एन्फाको इतिहासमा पहिलो पटक आर्थिक नियमावली पास गरेको छ । यस्तै फुटबल संघ कार्य संचालन विधि र कर्मचारी प्रशासन नियमावली पनि सर्वसम्मत पास गरेको छ ।

यसैगरी एन्फाको विधानमा वरिष्ठ मानार्थ उपाध्यक्ष पद पनि संशोधन गरेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया