किर्ते गरेर रकम निकासा गर्ने विरुद्द उजुरी दर्ता

 साउन ३०, २०७५ बुधबार १८:२५:२६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – किर्ते हस्ताक्षर गरेर बैंकबाट रकम निकासा गरेको भन्दै दाङ राजपुरको गुरुङनाकादेखि कल्याणपुर सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष फुलमाया घर्तीले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिनु भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट गएकोे आर्थिक वर्ष २०७४÷७५ मा राजपुर गाउँपालिका वडा नम्बर १ को नाका क्षेत्रमा विकास गर्न भनेर विनियोजन गरेको १९ लाख ७५ हजार रुपैयाँ बजेट त्यसै समितिका अध्यक्ष ओमबहादुर पुन र सचिव होमबहादुर सुनारले कोषाध्यक्ष फुलमाया घर्तीलाई थाहै नदिएर रकम निकासा गरेको भन्दै घर्तीको गुनासो गर्नु भएको छ ।

अध्यक्ष र सचिवले आफूलाई कुनै जानकारी नदिएर काम गरेको समेत उहाको भनाई छ । राजपुर गाउँपालिकाले प्राविधिकसहित अनुगमन गर्दा सबै ठिक पाएपछि बजेट निकासाका लागि अनुमति दिएको बताएको छ । गाउँपालिकाका सब–इञ्जिनियर सुवास भण्डारीले १९ लाख ७५ हजार रकमबाट निर्माण उपभोक्ता समितिले गुरुङ नाकादेखि पटौली नाकासम्म २६ वटा होम पाइप, २८ वटा ग्याविंग तार जाली १० मिटर लम्बाइ भएको र एकवटा कल्भर्ट निर्माण गरेको बताउनुभयो ।

अनुगमनमा काम देखिएपछि रकम निकासाको सिफारिस भएको सब–इञ्जिनिएर भण्डारीले बताउनुभयो । यति ठूलो रकममा गाउँपालिकाले गैरजिम्मेवारी भएर रकम निकासाका लागि अनुमति दिएको भन्दै विभिन्न क्षेत्रबाट टिका टिप्पणी हुन थालेको छ ।

यो विषयमा सम्पर्क गर्न खोज्दा समितिका अध्यक्ष र सचिवको फोन सम्पर्क हुँदैन । दोषीलाई हदैसम्मको कारबाही नगरे कारबाहीको अर्को विकल्प खोज्ने उहाँको भनाई छ । अध्यक्ष पुन र सुनारले २५/२५ हजार रुपैयाँ राखेर घर्तीलाई १० हजार रुपैयाँ दिएको र कसैलाई नभन्नु समेत भनेर धम्क्याएको पत्रमा उल्लेख गरिएको छ । सम्बन्धित व्यक्तिहरुलाई सम्पर्कमा ल्याएर आवश्यक अनुसन्धान गर्नु भनि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय गढ़वालई पत्राचार गरेको बताइएको छ ।

गढवा प्रहरी प्रमुख पंचलाल गोलेका अनुसार लगातार परिरहेको पानीका कारण ती व्यक्तिसँग सम्पर्क हुन नसकेको बताउनुभयो । सम्पर्कमा ल्याउने प्रयास भैरहेको पनि प्रहरी प्रमुख गोलेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया