शुक्रबारे बजार लालपूर्जाविहीन

 साउन ३०, २०७५ बुधबार १९:३८:१७ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका ९० प्रतिशतभन्दा धेरै घरधनीसँग जग्गाको लालपूर्जा छैन । बजारमा बनाइएका घरको जग्गाधनीपूर्जा नहुँदा समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् । 

संघीयता कार्यान्वयनसँगै गाउँमै स्थानीय सरकार गठन भए पनि आफूहरुको समस्यामा केन्द्रित भएर केही पनि गर्न नसकेको उनीहरुको गुनासो रहेको छ । 

गाउँपालिकाको केन्द्र रहेको बजार नै लालपूर्जाविहीन नहुँदा बजारको उचित विकास समेत हुन सकेको छैन । घरजग्गा किनबेच र बैंकमा धितो राख्न समेत समस्या भएपछि बजारमा लगानी गर्ने पूँजीको अभाव रहेको व्यवसायी बताउँछन् । तत्कालीन बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाका अनुसार यो स्थानमा ४० वर्षअघिसम्म विभिन्न अवसरमा मेला लाग्थ्यो । 

मेला भर्न आएकाहरू लडाइँ गर्ने थलोका रूपमा यो ठाउँलाई उपयोग गर्थे । लडाईँ÷झगडा हुन नदिने अभिप्रायले तत्कालीन हमरजुङका प्रधानपञ्च विष्णुलाल भटराईको संयोजकत्वमा ४१ सदस्यीय बजार विस्तार समिति गठन भएको थियो । समितिले प्रतिघडेरी पाँच रुपैयाँ लिएर १ सय ८१ वटा घडेरी वितरण गरेको थियो । 

स्थानीयले भोगचलन गरेको चार दशक बितिसक्दा पनि जग्गाको आधिकारिक लालपूर्जा वितरण भएको छैन । भएको सबै जायजेथा लगाएर करोडको लगानीमा बनाएका पक्की घरकै धनीपुर्जा नहँुदा समस्या भएको स्थानीय व्यापारी नरसिंह लिम्बूले बताउनुभयो । बजारमा ३ सय ५० भन्दा धेरै घर निर्माण भइसकेका छन् । 

जसमध्ये कच्ची र पक्की गरी करिब ३ सय घर लालपूर्जाविहीन रहेको छन् । उनीहरुले आवश्यक प्रक्रिया पूरा गरी आफूहरुलाई लालपूर्जा उपलब्ध गराइदिन स्थानीय सरकारसँग माग गरेका छन् ।  

यता गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले यही वर्षभित्र स्थानीयवासीले जग्गाधनीको प्रमाणपत्र पाइसक्ने बताउनुभएको छ । 
उहाँले बजारको विकास नै त्यही कुरामा अड्किएको भन्दै त्यसको व्यवस्थापनका लागि आफूले पहल गरिरहेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया