भारतीय क्रिकेट टिमका पूर्वकप्तान अजीत वाडेकरको निधन

 साउन ३०, २०७५ बिहिबार ५:३४:५९ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका पूर्वकप्तान अजीत वाडेकरको निधन भएको छ । ७७ वर्षीय वाडेकर लामो समयदेखि बिरामी थिए । बुधबार बेलुका मुम्बईमा रहेको जसलोक अस्पतालमा उनको निधन भएको हो ।

सन् १९४१ अप्रिल १ मा मुम्बईमा जन्मिएका अजीत वाडेकरले सन् १९५८ बाट प्रथम श्रेणीको क्रिकेट खेल्न थालेका थिए । सन् १९६६ देखि १९७४ सम्म उनले भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेट खेले । सन् १९७१ मा उनी भारतीय क्रिकेट टिमको कप्तान बनेका थिए । उनकै कप्तानीमा भारतले पहिलो पटक इंग्ल्याण्ड र वेस्टइन्डिजको भूमिमा टेस्ट श्रृङ्खला जितेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि वाडेकरले सन् १९९० को दशकमा भारतीय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । पछि उनी भारतीय टिमको मुख्य चयनकर्ता पनि बनेका थिए । 

अजीत वाडेकरलाई भारत सरकारले सन् १९६७ मा अर्जुन पुरस्कार तथा सन् १९७२ मा पद्मश्रीबाट सम्मानित गरेको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै क्रिकेटर वाडेकरको निधनमा शोक व्यक्त गरेका छन् । 

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया