स्थानीय तहको आन्तरिक आयस्रोत : हाटमा करदेखि खोलामा माछा मार्न टेण्डरसम्म

 साउन ३१, २०७५ बिहिबार १३:५३:१४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – एक नगरपालिकासहित आठ स्थानीय तह रहेको पाँचथरका स्थानीय तहले आन्तरिक आयस्रोत वृद्धि गर्न विभिन्न ठाँउमा कर उठाउनेदेखि लिएर खोलामा माछा मार्न टेण्डर सम्मको आह्वान गरेको छ ।

यहाँका स्थानीय तहले आफ्नो क्षेत्रमा लाग्ने हाटमा कर संकलन लागि टेण्डरको आह्वान गरेक छन् ।

जिल्लाको एकमात्र नगरपालिकाले विज्ञापन कर संकलनका लागि न्यूनतम रकम १ लाख ५० हजार तोकेको छ । हाट बजार कर न्यूनतम रकम १ लाख, पार्किङ शूल्कको न्यूनतम शूल्क ४ लाख रुपैयाँ हुनेगरी ठेक्का लगाइएको छ । 

यस्तै फाल्गुनन्द गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र लाग्ने हाटबाट कर संकलनको लागि ठेक्का आह्वान गरेको छ । पालिकाले फाक्तेप वजारमा महिनामा दुई पटक लाग्ने हाटबाट न्यूनतम १ लाख १६ हजार, राँकेमा लाग्ने हाटबाट ६९ हजार, नवमिडाँडामा लाग्ने हाटबाट ४६ हजार ४ सय रुपैयाँ हुनेगरी ठेक्का आह्वान गरेको छ । 

साथै इलाम जिल्लासँग सीमा जोडिएको फाल्गुनन्द गाउ पालिकाले २ लाख न्यूनतम रकमको फाक्तेप, पात्लेभञ्ज्याङ र राँके निकासी कर संकलनको ठेक्का आह्वान गरेको छ । यस्तै जिल्लाको उतरी याङवरक गाउँपालिकाले पालिकाको क्षेत्रभित्रका नदी तथा खोलामा तिते माछा तथा अन्य माछा मार्नको लागि ठेक्का आह्वान गरेको छ । स्थानीयको पुर्ख्याैली पेशाको रुपमा रहेको तिते माछा मार्न विगतबाटै ठेक्का गरिँदै आए पनि यस वर्षबाट गाउँपालिकाले ठेक्का आह्वान गरेको हो । गाउँपालिकाले माछा मार्न १ लाख ५० हजार न्यूनतम रकम हुने गरी ठेक्का आह्वान गरेको हो ।

स्थानीय तहले प्राप्त गरेको अधिकारको उपभोग गर्दै विगतमा कर संकलन नभएका क्षेत्रमा कर उठाउन थालेका हुन् । यसले स्थानीय तहको आन्तरिक आय वृद्धि हुने तथा कर लगाइएका क्षेत्र व्वस्थित हुने भए पनि नागरिकले हरेक क्षेत्रमा कर तिर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उद्योगी, व्यवसायीले करको दायरा घटाउनुपर्ने माग गर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया