फिफाकाे जुलार्इ वरीयता सार्वजनिक: फ्रान्स शीर्ष स्थानमा, नेपाल १६१ अाैं स्थानमा तटष्थ

 साउन ३१, २०७५ बिहिबार १५:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यो महिनाको वरीयता सार्वजनिक गर्दा नेपाले कुनै प्रगति गर्न सकेन । अघिल्लो महिना १६१ औं स्थानमा रहेको नेपाल यो महिना पनि सोही स्थानमा रहन सफल भएको छ ।

फिफाले यो पटक देखि वरीयता निर्धारण गर्ने मपदण्डमा ब्यापक फेरबदल गरेको छ । यसअघि अघिल्लो वरीयता खेलको औसत अंक जोड्ने प्रावधान थियो ।

लामो समयको परीक्षणपश्चात अब वरीयताका लागि अघिल्लो वरियताको अंकमा वरीयता सार्वजनिक गरिने महिना भर खेलेको खेलको अंक जोडिने वा घट्नेछ । अब महिनाभर निष्क्रिय रहने राष्ट्रिय फुटबल संघको अंक घट्ने छैन । तर आफूभन्दा कमजोर टिमसँग बराबरी वा हारेको खण्डमा अंक घट्नेछ ।

फिफा वरीयतामा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ । विश्वकप विजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

विश्वकपको उपविजेता क्रोएसियाले १६ स्थान माथि उक्लिँदै २०औंबाट चौथो स्थानमा फड्को मारेको छ । उरुग्वे पनि १४औंबाट नौ स्थानमाथि उक्लिँदै पाँचौंमा पुगेको छ । यस्तै इंग्ल्याण्ड १२औंबाट छैटौं स्थानमा उक्लिएको छ भने डेनमार्क १२औंँ स्थानबाट नवौं स्थानमा उक्लिएको छ ।

अर्जेन्टिना, चिली, जर्मनी र पोल्याण्ड भने शीर्ष १०बाट बाहिरिएका छन् । अघिल्लो महिना सर्वाजनिक भएको वरीयता क्रममा पाँचौं स्थानमा रहेको अर्जेन्टिना ११औं स्थानमा झरेको छ भने चिली तीन स्थान तल झर्दै १२औंमा पुगेको छ ।

१४ स्थान तल झर्दै जर्मनी १५औं स्थानमा पुगेको छ भने पोल्याण्ड आठौंबाट १८ औं स्थानमा झरेको छ ।

यो महिना सबैभन्दा ठूलो फड्को विश्वकपको क्वार्टरफाइनलिस्ट रसियाले मारेको छ । यस अघि ७०औं स्थानमा रहेको रसिया २१ स्थानमाथि उक्लिँदै ४९औं स्थानमा पुगेको छ ।  

एसियाली वरीयता 

एसियामा इरानले आफ्नो अग्रता कायमै राखेको छ । इरान विश्व वरीयतामा पाँच स्थान माथि उक्लिँदै ३२औं स्थानमा पुगेको छ । एसियामा दोस्रो स्थानमा रहेको अष्ट्रेलिया ४३औं स्थानमा छ भने ६ स्थान माथि उक्लिँदै ५५औं स्थानमा रहेको जापान एसियाको तेस्रो स्थानमा छ ।

 दक्षिण एसिया 

दक्षिण एसियामा भारत अग्रस्थानमा कायमै छ । अघिल्लो महिनाभन्दा एक स्थान सुधार गर्दै भारत ९६औं स्थानमा उक्लिएको छ । फिफा वरीयताको शीर्ष १०० भित्र पर्न सफल भारत एकमात्र दक्षिण एसियाली मुलुक हो ।

१५०औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा रहँदा नेपाल भने दक्षिण एसियाको तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया