विदेशबाट फर्कनेलाई विमानस्थलमै सोधिनेछ : के सीप सिकेर फर्किनुभयो ?

 साउन ३१, २०७५ बिहिबार १७:३७:४९ | सन्जिता देवकोटा

काठमाडौं – सरकारले अबदेखि विदेशमा काम गरेर फर्किएका युवाको सबै विवरण उपलब्ध हुने गरी तथ्याङ्क राख्ने भएको छ । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क भए पनि फर्किनेहरुको तथ्याङ्क नभएपछि सरकारले नयाँ योजना अघि सारेको हो ।  

सरकारी तथ्याङ्क अनुसार दिनहुँ सरदर १५ सय युवा रोजगारीका लागि विभिन्न देश उड्छन् । ४५ लाखभन्दा धेरै युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। 

विदेश जानेहरुको तथ्याङ्क राखे पनि सरकारले विदेशबाट फर्किनेहरुको भने तथ्याङ्क नराख्दा विदेशमा सीप सिकेर कति फर्किए भन्ने जानकारी छैन । 

अनलाइन अपग्रेडिङ प्रणाली स्थापनाको तयारी

विदेशबाट फर्किएका युवाको तथ्याङ्क राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइन अपग्रेडिङ प्रणाली स्थापना गरिने भएको छ । अनलाइन अपग्रेडिङ स्थापनाको काम अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्री गोकर्ण विष्टका अनुसार अबको १० दिनभित्र अनलाइन प्रणालीको परीक्षण गरिने छ । परीक्षण लगत्तै औपचारिक रुपमा तथ्याङ्क राख्न थालिने मन्त्रालयले जनाएको छ ।

अनलाइन प्रणालीमा मन्त्रालयदेखि श्रमसँग सम्बन्धित विभाग, कार्यालय, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, मेडिकल जाँच गर्ने तथा कामदारलाई तालिम दिने संस्थाहरु समेत जोडिनेछन् ।

ती सबै निकाय तथा संघ, संस्थासँग भएका कामदारको तथ्याङ्क अनलाइन प्रणालीमा राख्ने काम भैरहेको छ । विदेशमा काम गर्न जानेको सबै विवरण एकीकृत अनलाइन प्रणालीमा राख्ने काम सकिएपछि परीक्षणको रुपमा दर्ता सुरु हुनेछ । 

पासपोर्ट नम्बरका आधारमा सबै विवरण उपलब्ध हुन्छ

यो प्रणालीबाट दर्ता सुरु भएपछि कामदार विदेशबाट फर्किंदा विमानस्थलमा हुने अनलाइन प्रणालीमा पासपोर्ट नम्बर राख्दा उसको सबै विवरण प्राप्त हुन्छ ।

कामका लागि विदेश जाने सबैको नाम थर, ठेगाना, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायताका सबै विवरण राखिने भएकाले फर्किदा पासपोर्ट नम्बरको आधारमा व्यक्तिले कुन सीप लिएर फर्किएको छ भन्ने जानकारी हुनेछ । 

विदेशको सीप र अनुभव प्रयोगमा ल्याउने उदेश्य

विमानस्थलमा विदेशमा काम गर्न जानेहरुजस्तै काम गरेर फर्कनेहरुको पनि लर्को देखिन्छ । तर यसरी फर्किने कामदार विदेश फेरि नफर्किने गरी कति फर्किए, कतिले देशमै केही गर्ने योजना लिएर फर्किए अहिलेसम्म सरकारसँग तथ्याङ्क छैन । 

अबदेखि अनलाइनमै सबै विवरण हुने भएकाले पनि विदेशबाट फर्किएकामध्ये कोसँग के सीप र अनुभव छ भन्ने राम्रोसँग थाहा हुन्छ । साथै मौखिक रुपमै पनि विमानस्थलमा उसले गरेको काम, अनुभव र आगामी योजनाका बारेमा सोधिने मन्त्रालयले जनाएको छ । 

यसबाट कसको कुन क्षेत्रमा कति क्षमता र अनुभव छ भन्ने थाहा हुनेछ । उनीहरुले विदेशमा सिकेका सीप र अनुभव सदुपयोग गरेर अरुलाई पनि स्वरोजगार बनाउन सकिने सरकारको दाबी छ ।

स्वदेशमै व्यवसाय गर्नेलाई सरकारले उपलब्ध गराउने सहयोग 

पाँच वर्षभित्र कामको लागि विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गर्न भन्दै सरकारले विभिन्न योजना सार्वजनिक गरिसकेको छ । यस्ता योजनामा बेरोजगारको गणना गर्नेदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने सम्मका कार्यक्रम परेका छन् ।

वैदेशिक रोजगारीमा जानबाट युवालाई रोक्ने सरकारका १० कार्यक्रम

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण गर्दा पनि अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट फर्किएका युवाको सीप प्रमाणीकरण गर्ने र त्यसका आधारमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

अब विदेशमा काम गरेर फर्किनेको व्यवस्थित रुपमा तथ्याङक राख्न थालिएपछि उनीहरुको सीप प्रमाणीकरणमा पनि अझ सहज हुनेछ । 

देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै त्यसका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरेको छ । विदेशबाट फर्केका युवाले आफ्नो सीप देशभित्र पनि प्रयोग गर्न सक्नेछन् । 

यो पनि पढ्नुहोस् 

युवालाई रोजगारी स् सात प्रदेशका सात मन्त्री, सातैथरि सुझाव

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • Manglesh kumar singh

    Aug. 17, 2018, 5:51 p.m.

    Nice move by the new govarnment Lets see how much it will work

  •  0 Reply
  • Durga tamang

    Aug. 16, 2018, 8:12 p.m.

    नेपाल फर्किदा यार्पोर्ट्मा दिनुपर्ने अन्तरबार्ताको तयारी एसरी गरिराखेकोछु तपाईंलेनी? बिदेशमा दुईसाल बसियो 55°डिग्रीमा गैती बेल्चा हानियो जसोतसो रिन तिरियो अनि डेढलाखको ऐफोन किनियो डाटा खोलेर फेस्बुक र ईमो म्यसेन्जर चलाउन जानियो ऐफोन हुने जत्तिलाई कम्पनीलेपनी खेदाईपठायो नहुनेलाई अलि अलि तलब बढाएर भिसा थपी दियो हामी ऐफोन वालाजत्ती नेपाल आइयो अब यार्पोट्मै कसैले किनेउ भने तेई ऐफोन बेचेर घर पुग्छु भन्ने तरखरमा छौ काम नाथे त पछि सिकौलानी के हतार ?

  •  0 Reply

तपाईको प्रतिक्रिया