एसियाली खेलकुदमा फेरि हार्‍याे नेपाल, भियतनामसँग २–० ले पराजित

 साउन ३१, २०७५ बिहिबार १९:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । हारसँगै नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना न्यून रहेको छ ।

इन्डोनेसियाको सिकाराङमा भएको खेलमा नेपाल भियतनामसँग दुई–शून्य गोलले पराजित भयो । पहिलो खेलमा जापानसँग एक–शून्यले पराजित भएको नेपालले भियतनामसँग राम्रो खेल्न सकेन । पहिलो आधा घण्टा नेपालले विपक्षीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर ३४ औं मिनेटमा भियतनामले खेलमा अग्रता बनायो ।

नेपाली डिफेन्सको कमजोरीका फाइदा उठाउँदै गुयन अनले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसका विपरित भियतनामले नेपालमाथि दबाब कायमै राख्यो । ६४ औं मिनेटमा फान भानले भियतनामका लागि गोल गर्दै अग्रता दुई–शून्यमा पुर्‍याए ।

त्यसपछि नेपाल खेलमा फर्कन सकेन । दोस्रो हाफको अन्तिमतिर नेपालले दुई वटा मुभ बनाए पनि गोल गर्न भने सकेन । यो हारपछि नेपाल नकआउटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । अब नेपालले अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । त्यो खेलमा जित निकालेमा नेपाल उत्कृष्ट तेस्रो टिमका रुपमा नकआउट चरणमा पुग्ने सम्भावना बाँकी हुनेछ ।

यदि पराजित भएमा पाकिस्तानलाई त्यो मौका आउनेछ । यता पाकिस्तानले पनि लगातार दुई खेलमा हार व्यहोरिसकेको छ ।

-यसअघि नेपाल बाहिरियाे भन्ने खबर प्रकाशित भएकाेमा सच्चयाएका छाैँ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Angnima sherpa

    Aug. 16, 2018, 8:07 p.m.

    Every time losses news only, I prey some time I wish to hear of victory too

  •  0 Reply

तपाईको प्रतिक्रिया