डलरको भाउ बढ्यो : नेपाललाई फाइदा छ कि घाटा ?

 भदौ १, २०७५ शुक्रबार ५:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको मूल्य अनुसार अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५५ पैसा  पुगेको छ । 

यसरी भाउ बढ्दा डलर हातमा भएर साट्न जानेलाई पक्कै पनि बढी रकम हात पर्छ । तर समग्रमा हेर्दा देशको अर्थतन्त्रमा यसले ठूलो असर पार्न सक्छ ।
दुई देशबीच हुने व्यापार तथा आयात निर्यातमा दुई देशको मुद्रा बलियो वा कमजोेर हुनुले व्यापार घाटा बढाउने वा घटाउने गर्दछ ।

नेपालको आयात निर्यात भारतसँग बढी छ । नेपालले धेरै मात्रामा आयात गर्दछ भने नगण्य मात्रामा निर्यात गर्ने गर्दछ । जसले गर्दा नेपालको व्यापार घाटा झन् बढेर जानेछ ।

आयात गर्ने सामानहरु भारतले तेश्रो देशबाट डलरमा कारोबार गरेर ल्याएको हुने हुनाले नेपालले आयात गर्दा मूल्य बढ्न जान्छ । आयात गर्ने मूल्य बढ्नु र अत्यधिक मात्रामा आयात हुनुले व्यापार घाटा बढ्न जाने हो ।  

अर्थविद् अच्युत वाग्लेले भन्नुभयो, ‘हाम्रो मुद्राको दर पूर्णत भारतीय मुद्राको स्थितिसँग निर्भर भएकोले अहिलेको अवमूल्यन भारतीय मुद्राको अवमूल्यनका कारण भएको हो’ वाग्लेले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र पूर्णतः आयातमुखी भएकोले मुद्राको अवमूल्यनले हाम्रोजस्तो देशका लागि यसले नकारात्मक र भयावह खालको असर मात्रै गर्छ, फाइदा केही पनि हुँदैन ।’

अर्थविद् वाग्लेका अनुसार यसरी मुद्राको अवमूल्यन हुनु निर्यातमुखी अर्थतन्त्र भएको देशका लागि भने फाइदाजनक हुन्छ । निर्यातजन्य अर्थतन्त्र भएको भए यसले फाइदा गथ्र्याे, किनकी सामानको भाउ घटेपछि निर्यात हुने सामानको परिमाण बढ्न जान्थ्यो र नाफाको परिमाण पनि बढ्न सक्थ्यो ।

तर नेपालमा उत्पादन भएका सामग्री आफैंलाई अपुग हुने भएकाले अधिकाँश सामग्री छिमेकी राष्ट्रबाट आयात गर्नुपर्दा डलरको भाउ बढेर नेपाली मुद्राको अवमूल्यन हुनु हो, जुन बिल्कुलै फाइदाजनक छैन । 

बढेको डलरको भाउ अनुसार तेश्रो मुलुकबाट सामान आयात गर्नु पर्ने भएकाले महँगो पर्ने निश्चित छ । भारतमै बनेका सामान त सस्तो हुनुपर्ने वा तटस्थ हुनुपर्ने भन्ने प्रश्न उठ्न सक्छ ।

तर भारतले पनि उसको देशमा बन्ने अधिकाँश सामानको कच्चा पदार्थ तेश्रो देशबाट डलरमै आयात गर्ने हुनाले यसरी भारतमै उत्पादित सामान पनि नेपाल आइपुग्दा महँगो हुन जाने हो ।  

मुद्राको अवमूल्यन अत्यधिक मात्रामा नकारात्मक हुने भए पनि विभिन्न देशबाट डलरमा आउने रेमिटेन्सको रकम सटही गर्दा भने फाइदा हुन्छ । किनकी डलरबाट नेपाली रकम लिंदा बढेको भाउ अनुसार कारोबार गरिन्छ ।

रेमिटेन्स अर्थतन्त्रको एउटा सानो हिस्सा मात्र भएकाले यसमा हुने फाइदाले समग्र अर्थतन्त्रमा भने खासै फरक पार्दैन ।

नेपालले लिने विदेशी ऋणका लागि राष्ट्र बैंकमा सरकारको नाममा खोलिएको नेपाली मुद्राको खातामार्फत डलर किन्दै ऋणको किस्ता र ब्याज तिर्ने गर्छ । ऋण लिने बेलाभन्दा तिर्ने बेलासम्ममा डलरको दरमा आउने परिवर्तन अनुसार साँवा र ब्याज बुझाउँदा ऋण तिरिसक्दासम्म ठूलो रकम घाटा हुन जान्छ । त्यसैले पनि समग्र रुपमा लागि यो अवमूल्यन नकारात्मक हुन पुगेको हो । 

यसो हुँदाहुँदै पनि यदी स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर सामान उत्पादन गर्ने कम्पनीहरु धेरै भएको खण्डमा भने फाइदा हुन्छ । तर नेपालमा त्यस्ता कारखाना र कम्पनीहरु नभएकाले तत्काल यो फाइदा पनि नेपालले उठाउन नसक्ने देखिन्छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • sikandra

    Aug. 18, 2018, 4:47 a.m.

    GATT ले गरदा यसतो भएछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया