नयाँ मुलुकी ऐनले कसैको अधिकार खोसेको भए तत्काल सच्याइन्छ : प्रधानमन्त्री ओली

 भदौ १, २०७५ शुक्रबार १७:५२:३४ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नयाँ मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाइए तत्काल सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले आजबाट लागू गरिएको नयाँ मुलुकी ऐन व्यवहारका क्रममा अपूर्ण देखिए वा अनपयुक्त लागे सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढने र त्यसमा व्यवहारको क्रममा कमीकमजोरी भेटिए परिमार्जन गर्दै लगिने स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन  नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराउनु भयो । परिवर्तित सन्दर्भ र सोही परिवेश अनुसार नयाँ मुलुकी ऐन व्यापक छलफलका लागि लागू गरिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै काययमुकायम प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले इमान्दारितका साथ नयाँ मुलुकी ऐन कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनु भयो । उहाँले मुलुकी ऐनलाई समय सापेक्ष सुधार गरेर नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराउनुभयो ।

कायममुकायम प्रधानन्यायाधीश मिश्रले नयाँ मुलुकी ऐनले मुलुकलाई विधिको बाटोमा अघि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • हरिनारायण बास्कोटा

    Aug. 17, 2018, 7:30 p.m.

    एक वर्ष अघि नै सर्वसम्मत रूपमा पारित भई परिपक्व बनेको नयाँ कानुनबाट शासित हुने पाउने हामी सबै नेपाली जनतालाई यो सुखद जीवनको गोरेटो बनोस् भन्ने हार्दिक शुभकामना ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया