टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिइने

 भदौ २, २०७५ शनिबार १३:१९:३९ | रासस
unn.prixa.net

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने भएको छ । 

टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक दुई हजार रुपैयाँ भत्ता दिन लागिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, 'टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं ।' 

टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ ।

१८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया