सप्तरी गाेलीकाण्डबारे बाेले प्रम अाेली: गोली किन चल्यो? कसले चलायो?

 भदौ २, २०७५ शनिबार १३:५४:६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को विकासको लागि केन्द्र र संघीय सरकार चिन्तित रहेको बताउनुभएको छ ।

शनिबार प्रदेश नं. २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो ।

प्रदेश २ मा विकासका असाधारण सम्भावनाहरु रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँको जमिनहरुमा सिँचाईको व्यवस्था र कृषिलाई आधुनिकीकरण गर्न सके प्रदेश २ लाई मात्र पुग्ने होइन चार गुणभन्दा बढी अन्न उत्पादन हुन्छ ।’  

प्रदेश २ मा अन्न उत्पादन बढाउन सिंचाईको योजना सुनसरी मिरन कमला डाइभर्सन योजना, चुरेक्षेत्रमा ठूला ठूला बाँध बनाएर सिंचाईको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको भनाई छ ।

संविधानप्रतिकाे असन्तुष्टिको विषयमा प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएको भन्दै जनताको चाहना अनुसार संशोधन हुने बताउनुभयो । उहाँले प्रदेश सांसदहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘तपार्इ‌ंहरुलाई संविधानमा विभेद छ भन्ने लागेको छ भने भन्नुस्, हामी संशोधन गर्छौं । हामी पहिलादेखि नै विभेदविरुद्ध लड्दै आएका छौं ।’

प्रधानमन्त्री ओलीले प्रदेश नं. २  गौरवपूर्ण इतिहास बोकेको पवित्र भूमि भएको चर्चा गर्नुभयो । उहाँले प्रदेश २ को चर्चा गर्दै भन्नुभयो, ‘पहिला ज्ञात भूमि र ज्ञानको ज्योति बल्ने यस स्थानमा महिलाहरुको सम्मान हुन्थ्यो, तर हाल महिलाहरुको अपमान गर्ने कार्यहरु भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले चीन र भारत दुवैसँग मिलेर नेपाल अघि बढिरहेको बताउँदै अन्तराष्ट्रिय सम्बन्धहरु समेत नेपालको राम्रो रहेको बताउनुभयो । पाँच वर्ष भित्र यस प्रदेशमा हुलाकी सडक बन्ने र त्यसमा मज्जाले दौडन सकिने उहाँको भनाई छ ।

लोकतन्त्र राम्रो भएको भन्दै उहाँले त्यसलाई स्थापना गर्न जनप्रतिनिधिले व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । तर जनता निराश हुनु लोकतन्त्रको सबैभन्दा खतरनाक कुरा रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।  

प्रदेश २ को आठवटै जिल्लामा जनता आवास कार्यक्रमलाई पभावकारी बनाउन समेत प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रत्येक जिल्लामा १ हजार घर निर्माण गर्न प्रदेश सरकार र स्थानीय सरकारले एकीकृत वस्ती निर्माण गर्न उहाँले जोड दिनुभयो ।

पूर्व पश्चिम रेलमार्ग बनाएरै छाड्ने दावी गर्दै उहाँले उत्तर दक्षिण रेलमार्ग निर्माण गर्न भारत सरकारसंग सहकार्य गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बैठकको अन्तमा आफ्नो अघिल्लाे पटककाे मधेश भ्रमणका बेला चलेको गोलीकाण्डबारे पनि आफ्ना कुरा राख्नुभयो । ‘म आफ्नो कुरा नागरिकलाई सुनाउन सप्तरी गएको थिएँ । एक्कासि गोली चल्यो । गोली किन चल्यो ? कसले चलायो ?’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘न म सरकारमा थिएँ, न मेरो नेतृत्वमा सरकार थियो ।’

उहाँले राजनीति विकासका लागि भएको बताउनुभयो । ‘राजनीति जालझेल कपट गर्ने विषय होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीति विकास गर्ने आधार हो ।’
विकी यादव, उपेन्द्र महतो लगायत ३ जना राजपाका सांसदले प्रधानमन्त्री प्रदेशसभामा पुग्नेबित्तिकै असन्तुष्टि व्यक्त गर्दै संसद बहिष्कार गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया