साँधीखोलामा आएको बाढीले पुलमा क्षति,  खुर्सानीबारी र बाह्रबिसेको सम्पर्क टुट्ने भन्दै स्थानीय त्रसित

 भदौ २, २०७५ शनिबार १४:३:१४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – निरन्तरको वर्षका कारण सिन्धुपाल्चोक जिल्लाभरिका २ सयभन्दा बढी घरहरुमा असर पुगिसकेको छ ।

कतिपय स्थानहरुमा सडकहरु पनि अवरुद्ध भएका छन् । शुक्रबार रातिको वर्षाका कारण साँधीखोल्सामा आएको बाढीले बाह्रबिसे नगरपालिका बाह्रबिसे बजार र खुर्सानीबारीको बस्ती जोड्ने पुलमा क्षति पुगेको छ ।

पुलको एकतर्फको आधा भाग बाढीले बगाएको छ । बाह्रबिसे–३, भीरकुना र ४ कोसिनडाँडामा खसेको पहिरो र वर्षाले साँधीखोला बढेर अएपछि बाह्रबिसे र खुर्सानिबारी जोड्ने साँधीखोल्सा पुल धरापमा परेको हो ।

पुलमा क्षति पुगेपछि बाह्रबिसे बजारका स्थानीयमा त्रास फैलिएको छ । बजार जोड्ने पुलको कुनाको भागलाई बाढीले हुत्याएर सुनकोसी छेउमा पुर्याएपछि पुलको एकछेउ ढल्किएको छ ।

पुल खतरामा भएपछि बढी भारका सवारीसाधनलाई आउजाउ गर्न प्रतिबन्ध लगाइने प्रहरीले जनाएको छ । पुल जोखिममा परेपछि त्रासमा यसक्षेत्रका सवारीसाधान जान नमान्ने भएपछि डराउँदै यात्रु पैदल यात्रा गर्न बाध्य छन् । छिटफुट रुपमा मात्र आवागमन भएको छ ।

समयमा नै पुलको सुरक्षामा चासो नदिए खुर्सानीबारी र बाह्रबिसे बजारको सम्पर्क टुट्ने स्थानीयको भनाइ छ । यही बजार हुँदै सीमावर्ती क्षेत्र तातोपानीदेखि दुई दर्जनभन्दा बढी गाउँका स्थानीय ओहोर दोहोर गर्ने भएकाले पुलको तत्कालै मर्मत थालिनुपर्ने स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभएको छ ।

भीरकुना गाउँ हुँदै बजार झरेको साँधीखोला बढेर सुनकोसीको सतह माथि आएपछि बजारमा भागभाग हुने गरेको छ । साँधीखोलाले वरिपरीको खेती र जमिनको भाग काट्दे लगेकाले बेलैमा रोकथाम नगरिए बजार संकटमा पर्ने स्थानीय दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।

पुल यही तरिकाले कोशी छेउ ढल्कंदै गएमा बजारलाई कोसीले असर पार्नसक्ने देखिएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया