चीन बुझ्न सजिलो पुस्तक ‘नि हाउ ! नमस्ते !’

 जेठ १६, २०७५ बुधबार २०:३६:११ | उपेन्द्रराज पाण्डेय

काठमाडौं, जेठ १६ – लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको समसामयिक लेख तथा यात्रा संस्मरण समेटिएको पुस्तक ‘नि हाउ ! नमस्ते !’सार्वजनिक भएको छ । 

बुलबुल पब्लिकेशनद्वारा प्रकाशित पुस्तक बुधबार एक कार्यक्रमबीच विभिन्न क्षेत्रका सञ्चारकर्मीले सामूहिकरूपमा सार्वजनिक गरे ।

पुस्तकमाथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, अमृता लम्साल र  पत्रकार पवन आचार्यले समीक्षा गर्नुहुँदै चीनका विषयमा जानकारी लिन पुस्तकको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । 

पुस्तकमा लेखकले चीन बसाइँका क्रममा अनुभव गरेको चिनियाँ जीवन शैली, बद्लिँदो चीनको विकासक्रम, नेपाल–चीन सम्बन्धको इतिहास र भविष्यमा सम्बन्ध विस्तारका आयामबारे चर्चा गर्नुभएको छ । 

चीनले अघि सारेको ‘वन बेल्ट वन रोड’ अभियानबाट नेपाललगायत विश्वलाई हुनसक्ने फाइदा, चिनियाँ रेलका विवेचना, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सूत्र, शक्तिशाली बन्दै गइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनकाबारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । 

नेपाल–चीन सम्बन्ध युगौँ पुरानो हुनाका साथै अन्तर्देशीय सम्बन्ध जोड्नमा योगदान गरेका ऐतिहासिक पात्र मञ्जुश्री, सोङ्गचान गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्री, नेपालका तत्कालीन राजाको चिनियाँ नेता माओत्सेतुङ, चाउएन लाइ, च्याङ च मिन लगायतसँगको साक्षात्कारबाट ऐतिहासिक सम्बन्धलाई वर्तमान युगसम्म जोड्न खोजिएको छ । 

परम्परागत सम्बन्धलाई इतिहासका पात्रमाथि उभिएर अन्तर्देशीय सम्बन्धमा नयाँ आयाम थप्न सकिने पनि पुस्तकमा उल्लेख छ । छ वर्षदेखि चीनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दै आउनुभएका लेखकले आफ्नो त्यहाँ बस्दाको अनुभव पुस्तकमा उतार्नुभएको छ । 

कतिपय लेखले चीनप्रति अपरिचित नेपालीका लागि प्रत्यक्ष अनुभवको आभाष दिलाउनेछ । विश्वविख्यात ग्रेट वाल, चिनियाँ जीवनमा अंकहरूको भूमिका, परम्परागत चिकित्सा, युद्धकला ‘कलाबाजी’, चिनियाँ खानपान र संस्कृति, नेपाल र चीनबीचका केही मिल्दाजुल्दा चाडपर्व, चिनियाँ पे्रम जीवनलगायतका विषयले पाठकलाई चीनकाबारेमा धेरै जानकारी गराउनेछ । 

पुस्तकको आवरणले पनि एउटा चिनियाँ हात र अर्को नेपाली हात जोडेर बौद्धमार्गको प्रतीकलाई पृष्ठभूमिमा पारी नमस्कार गरेको देखाइएको छ । तीमध्ये एउटा हातमा चिनियाँ र अर्को हातमा नेपाली झण्डाको संकेत चिह्न राखिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया