रणजोर खोलामा आएको बाढी खेतमा, सयौं रोपनी धानखेत बन्यो बगर

 भदौ २, २०७५ शनिबार १५:३५:४० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – लगातारको वर्षातसँगै स्थानीय रणजोर खोलामा आएको बाढीले सदरमुकाम मन्थली आसपासका सयौं रोपनी खेतीयोग्य जमिनमा लगाइएको धान खेतमा खोला पसेपछि खेत पूरै बगरमा परिणत भएको छ ।

मन्थली नगरपालिका–३ घ्याप्चे पहिरोको शीर हुँदै बहने रणजोर खोलाले मन्थली वडा नम्बर–३ कठजोरको अर्चले, बडा नम्बर–४ सालुको गैराथोक, वडा नम्बर–५ सुनारपानी र वडा नम्बर–१ मन्थलीमा समेत ठूलो क्षति पुर्याएको छ ।

खोलाको दुवैतर्फ रहेको खेतीयोग्य जमिनमा किसानले धान बाली लगाएर धान गोडमेल समेत गरेका थिए । धान गोडेर विकासे मलसमेत हालिसकेको धान वर्षासँगै आएको बाढीले झण्डै पाँच सय रोपनीभन्दा बढीे खेत बगरमा परिणत गरेको छ । त्यस्तै पाँच सय रोपनीभन्दा बढी जमिन कटान गरेकोले स्थानीय किसानहरु चिन्तित बनेका छन् ।

रणजोर खोलामा आएको बाढी जिल्ला प्रहरी कार्यालय नजिकैको धानखेतबाट पसेर सुकाजोर खोलामा मिसिएको छ । रणजोरको पानी सुकाजोर खोलासम्म पुग्दा बीच भागमा रहेको खेतमा लगाएको धान पुरेर पूरै बगर बनाएको मन्थली नगरपालिका वडा नं–१ का किसान दिनेश घिमिरेले जानकारी दिनुभयो ।

रणजोर खोलामा आएको बाढी नियन्त्रण गर्ने संरचना नबन्दा बर्षेनि खेतीयोग्य जमिन कटान हुँदै आएको छ । खोलाको आसपासमा खेत हुने किसानहरुले आफ्नै खर्चमा हिउँदको समयमा खोला खेततर्फ आउन नदिन विभिन्न उपायहरु अपनाउदा पनि बाढीले गर्न सक्ने नोक्सान रोकिएको छैन् ।

खोला नजिकका खेतीयोग्य जमिन जोगाउन राज्यले गम्भीर भएर ध्यान नदिँदा मन्थली आसपासका किसानहरुले बर्षेनि दुःख व्यर्होन बाध्य हुनुपरेको अर्का किसान नरमान श्रेष्ठ बताउनुहुन्छ ।

रणजोर खोलाको नियन्त्रण गर्न नसक्दा १० वर्षदेखि नै वर्षेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ । खोला नियन्त्रणको नाममा राज्यबाट समयसमयमा रकम आएको भए पनि त्यो रकम कहाँ खर्च भयो वा कसरी काम भयो भन्ने विषयमा स्थानीय नागरिकहरु अनभिज्ञ रहेको आरोप स्थानीय कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रणजोर खोला नियन्त्रणको लागि स्थानीय स्तरणबाट सम्भव नहुने भएकाले राज्यले नै यो खोलाको नियन्त्रणको लागि खोलाको दुवै तर्फको भागमा तटबन्ध गरिदिए खेतीयोग्य जमिन जोगाउन सकिन्थ्यो ।’

खोलाले वर्षेनि खेतीयोग्य जमिनमा क्षेति पुर्‍याउँदा पनि स्थानीय सरकारको तर्फबाट खोला नियन्त्रणमा ध्यान नपुग्दा किसानहरु मारमा पर्दै आएका छन् । खोलाको शीरदेखी खोलाको अन्तिम भू–भाग तामाकोशी नदीसम्म खोलाका आसपासको क्षेत्रमा खेतीयोग्य जमिन कटान गर्दा समेत स्थानीय सरकार वा केन्द्रीय सरकारको समेत खोला नियन्त्रण गर्न तर्फ कसैको ध्यान पुग्न सकेको छैन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया