सरकारले फेसबुक, ट्वीटर र भाइबरबाट नागरिकसँग संवाद गर्ने

 भदौ २, २०७५ आइतबार ५:३८:३४ | रासस
unn.prixa.net

काठमाडौं - सरकारले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपुर प्रयोग गरी नागरिकसँग जीवन्त संवाद गर्ने भएको छ । 

लोककल्याणकारी र पारदर्शी सरकारको अवधारणाअनुसार नागरिकसँग प्रत्यक्ष संवादका लागि समाजिक सञ्जाललाई व्यापकरुपमा प्रयोग एवं सञ्चालनमा ल्याउन लागेको हो । 

नागरिकका गुनासो सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने तथा दोहोरो संवाद गरी सरकारी निकायप्रतिको विश्वासमा समेत वृद्धि गर्ने लक्ष्य राखिएको हो । विज्ञान प्रविधिको उच्चतम् प्रयोग गर्दै नागरिक र सरकारबीचको सम्बन्धलाई थप मजबूद बनाउन यस्तो प्रयास गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

सरकारी निकायको नागरिकसँग संवाद मजबूत गर्न, सूचना प्रवाहलाई तीव्रता दिन र आदानप्रदान गर्न तथा जनगुनासालाई शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जाल सञ्चालनमा ल्याउन लागिएको हो । विद्युतीय कारोवार ऐन, २०६३ को दफा ७९ बमोजिम सरकारी निकायले सामाजिक सञ्जाल सञ्जालनमा ल्याउन लागिएको हो । 

कार्यविधिअनुसार सरकार आफैँले पनि आगामी दिनमा आवश्यकताअनुसार अन्य सञ्जाल सञ्चालनमा ल्याउन सक्नेछ । त्यस्तै हाल सञ्चालनमा रहेका फेसबुक, ट्वीटर, भाइबरलाई नै तत्कालका लागि प्रयोग गरिनेछ । 

मुलुकको शान्ति सुरक्षा, विकास निर्माण, दुर्घटना, विपद्, महिला हिंसा, सार्वजनिक सेवा प्रवाहका विकृति, अनियमितता आदिका बारेमा व्यक्ति र सङ्घसंस्थाबाट प्राप्त सुझाव, सहायता माग तथा उजुरीको सम्बोधन सामाजिक सञ्जालबाट गर्ने व्यवस्था गरिएको छ । 

कार्यविधिअनुसार केही सरकारी कार्यालयले सामाजिक सञ्जाल शुरु गरिसकेका छन् भने केही भने तयारी हालतमा रहेका छन् । कार्यविधिअनुसार ट्वीटर खाता खोल्दा इमेल तथा युजरनेम व्यक्तिगत नभई पद, शाखा वा कार्यालयअनुसारको राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमा नेपाल सरकारको लोगो प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

यस्तै ट्वीटर खातामा आउने सन्देश, सूचनाको नियमित अवलोकन, आवश्यकताअनुसार उचित जवाफ दिनुपर्नेछ । यस्तै संवेदनशील र शीघ्र निकास दिनुपर्ने विषयमा नेतृत्वलाई जानकारी गराएर उपयुक्त निर्णय लिन पनि कार्यविधिले स्पष्ट व्यवस्था गरेको छ । 

यस्तै कार्यविधिले फेसबुक पेजसमेत खोल्न र सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित गर्न सम्बद्ध निकायलाई आवश्यक निर्देशन गरेको छ । कार्यविधिमा भाइबर खातासमेत खोल्न सक्ने व्यवस्था छ । सरकारी निकायले जनतासँग संवाद गर्न, जनगुनासा ग्रहण गर्न र आफ्ना सूचना सार्वजनिक गर्न त्यस्तो खाता खोल्न प्रोत्साहित गरेको हो । 

भाइबर खाता खोल्दा सरकारी कार्यालयकै प्रयोगमा रहेको एक वा आवश्यकताअनुसार बढी मोबाइल नम्बरको समेत व्यवस्था गर्नुपर्नेछ । तर सामाजिक सञ्जालमा गालीगलौजको भाषा प्रयोग गर्न, अश्लिल सामग्री पोष्ट गर्न, सामाजिक सद्भाव बिगार्न र आस्थामा विभेद गर्ने नकारात्मक सन्देश प्रवाह गर्ने खालका हुने कुनै पनि सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । 

नागरिक तथा सेवाग्राहीसँग प्रत्यक्ष संवादका लागि सामाजिक सञ्जालको प्रयोग गर्न सरकारी निकायलाई आग्रह गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरको भनाइ छ । 

कम्प्युटर एसोशियन नेपाल महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सरकारले सूचना प्रविधिको पछिल्लो विकासका रुपमा रहेको सामाजिक सञ्जालमा जोडिएर जनतासँग प्रत्यक्ष संवाद गर्ने विषय स्वागतयोग्य र प्रशंसायोग्य रहेको बताउनुभयो । 

“हामीले सरकारलाई विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न विगतदेखि नै सुझाव दिँदै आएका थियौं, सरकारले पछिल्लो पटक कार्यविधि नै ल्याएर सबै निकायलाई त्यसमा जोडिन भनेको छ, यो हाम्रा लागि त झन खुशीको कुरा हो”, अध्यक्ष चौरसियाले भन्नुभयो । 

उहाँले नागरिकसँग प्रत्यक्ष संवाद गर्न सामाजिक सञ्जाल नै पछिल्लो दिनमा बहुउपयोगी रहेको धारणा व्यक्त गर्नुभयो । पछिल्लो दिनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि ट्वीटरमा सक्रिय हुनुहुन्छ । यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गतिविधिसमेत ट्वीटर र फेसबुक मार्फत नै जानकारी दिइने गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट पनि सामाजिक सञ्जालमार्फत नागरिकसँग जोडिनु्भएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया