उखु किसान र चिनी उद्योगीको वार्ता विना निष्कर्ष

 जेठ १७, २०७५ बिहिबार ७:५९:४६ | उज्यालो सहकर्मी

महोत्तरी, जेठ १७ – उखु उत्पादक कृषक संघ महोत्तरीका प्रतिनिधि र एभरेष्ट चिनी उद्योग रामनगरका प्रतिनिधिबीचको वार्ता विना निष्कर्ष सकिएको छ । जनकपुरमा भएको पहिलो चरणको वार्ता विना निष्कर्ष सकिएको हो ।

उखु उत्पादक कृषक संघ महोत्तरीका पूर्वअध्यक्ष एवम वार्ता समितिका सदस्य महाशंकर थिङ्गले चिनी उद्योगीले भुक्तानीका लागि बैंकमा ऋणको प्रकृया अघि बढाइरहेकाले एक महिनाको समय मागेपछि वार्ता अगाडि बढ्न नसकको जानकारी दिनुभयो ।

किसान प्रतिनिधिले चिनी उद्योगले उखु खरिद गरेको ४५ दिनभित्र किसानको खातामा पैसा राख्नुपर्ने सहमति कार्यान्वयनको माग गर्दै आए पनि उद्योगीले वर्षौँसम्म पनि किसानको पैसा नदिने गरेका छन् । पैसा किसानको खातामा नगएसम्म आन्दोलन जारी रहने पूर्व अध्यक्ष थिङ्गले बताउनुभयो ।

वार्ता असफल भएपछि अब दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । 

एभरेष्ट चिनी मिलले यो सिजनमा क्रसिंग गरेको उखुको पौने २ अर्ब रुपैयाँ भुक्तानी गर्न आलटाल गरेपछि उखु किसान आन्दोलनमा उत्रेका हुन् । उखु उत्पादक कृषक संघको नेतृत्वमा जेठ ६ गतेदेखि महोत्तरीका उखु किसान चिनी उद्योगको प्रशासनलगायत मुलगेटमा तालाबन्दी गरेर धर्नामा बसेका हुन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया