गलेश्वरको चार दिनको भेटी १३ लाख

 भदौ ३, २०७५ आइतबार १७:३:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – यस वर्षको साउन महिनामा परेका चारवटा सोमबारमा मात्रै गलेश्वर मन्दिरमा १३ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रसिद्ध गलेश्वर मन्दिरमा गत साउन महिनामा कुल १३ लाख २७ हजार ४५२ रुपैयाँ भेटी सङ्कलन गरिएको हो ।

साउन महिनाको पहिलो सोमबार दुई लाख ८८ हजार २ सय ७१, दोस्रो सोमबार तीन लाख सात हजार ५ सय ८२, तेस्रो सोमबार तीन लाख २३ हजार ९ सय ८ र चोथो तथा अन्तिम सोमबार चार लाख सातहजार ६ सय ९१ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

गलेश्वर मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुले चढाएको दान तथा सहयोगबाट भेटी सङ्कलन भएको क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

गएको वर्ष कुल १३ लाख सातहजार ५ सय २९ रुपैयाँ भेटी सङ्कलन गरिएको थियो । यस वर्षको साउन महिनामा गलेश्वर शिवालयमा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, रुपन्देही, नवलपरासी, चितवन, बाँके, बर्दिया, सर्लाही जिल्लाबाट झण्डै १ लाख भक्तजनहरु दर्शन तथा पूजाआजा गर्न पुगेका थिए ।

मन्दिरमा भक्तजनहरुको सुरक्षाका लागि सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ । भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी र ज्येष्ठ नागरिकको व्यवस्थापनमा लगानी गरिने गलेश्वर शिवालय क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

भगवान शिव महादेवलाई मनपर्ने महिना साउन र सोमबारको दिन भएकाले विशेष गरी हरियो चूरापोते तथा रातो साडीमा सजिएर विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु योग्य पति प्राप्तिको कामना गर्न शिवालयमा जाने प्रचलन रहेको छ ।

हिन्दु धर्मावलम्बीहरुमा शिवालयमा पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहिआएको छ । पवित्र कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वार मानिन्छ भने सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया