डाक्टर देवकोटाको निधनपछि क्यान्सर पीडितमा चिन्ता, अात्मविश्वासकाे खाँचाे

 भदौ ४, २०७५ सोमबार ८:५०:४२ | बेदानन्द जाेशी

वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन हुँदा रुपन्देहीकी बिमला शाही (नाम परिवर्तन) नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सरको किमो लिइरहनुभएको थियो । क्यान्सरका कारण डा. देवकोटाको निधन भएको थाहा पाएपछि उहाँलाई डर लाग्यो । आफू पनि छिटै मरिने हो कि  भन्ने चिन्ता भयो ।

उहाँ दिनदिनै मानसिक रुपमा ग्रसित हुँदै जानुभयो । औषधीको प्रयोग गरिरहँदा पनि उहाँको अवस्था जटिल बन्दै गयो । त्यतिबेला उहाँलाई लागेको थियो, डाक्टर जस्ता मान्छे त क्यान्सर लागेर मरे, भने म को हो र ? 

उहाँले भन्नुभयो, ‘अस्पतालका स्टाफहरुले राम्रो परामर्श नदिएको भए शायद मलाई चिन्ताले नै चितामा पुर्याउने थियो होला ।’ डाक्टरहरुको माया र साथले अहिले आफू रोगबाट निको भएको उहाँ बताउनुहुन्छ ।

भक्तपुरका ५२ वर्षीय सुनिल डंगोललाई पनि यस्तै भयो । घाँटीको क्यान्सरको उपचार गराइरहेको बेला डा. देवकोटाको निधनले आफ्नो पनि बाँच्ने आशा गुमेको उहाँ बताउनुहुन्छ । 

त्यतिबेला भारतको राजिब गान्धी अस्पतालमा उपचार गराइरहेका डंगोललाई पनि डाक्टर जस्ता मान्छे त विदेशमा उपचार गराएर पनि निको नभई मरे भने आफू को हो र भन्ने लागेको थियो । तर डाक्टर तथा आफन्तहरुले राम्ररी सम्झाइ बुझाई गरेपछि र आफूले पनि हिम्मत नहारी निरन्तर उपचार गराएपछि सञ्चो भएको बताउनुहुन्छ ।

धेरै क्यान्सर रोगीले यसैगरी मनमा डर र आशंका लिने गरेको नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ बताउनुहुन्छ । अस्पतालमा आउने ४० प्रतिशत बिरामीहरुले डाक्टर देवकोटा जस्ता मान्छे त क्यान्सर लागेर मरे भने हामी त को हो र भन्नेजस्ता प्रश्न गर्ने गरेको वरिष्ठ क्यान्सर चिकित्सक डा. सुदिप श्रेष्ठ बताउनुहुन्छ । 

क्यान्सर रोगीहरुमा बढ्ने अस्वभाविक चिन्ताले मानसिक असन्तुलन हुँदा उपचार प्रभावकारी नहुने भएकाले प्रत्येक क्यान्सर अस्पतालमा राम्रो परामर्शको व्यवस्था गरिनुपर्ने वरिष्ठ क्यान्सर चिकित्सक डा. हरिप्रसाद ढकाल बताउनुहुन्छ । क्यान्सरबाट सन्चो भएका व्यक्तिहरुसँग पनि अन्तरक्रिया गराउँदा क्यान्सर पीडितहरुमा रोग निको हुन्छ भन्ने आत्मविश्वास बढ्ने भएकाले उपचार झनै प्रभावकारी हुने उहाँले बताउनुभयो । 

क्यान्सर जितेका काठमाडौं जयबागेश्वरीका ७२ वर्षीय ताराप्रसाद त्रिपाठी पनि आत्मविश्वासले क्यान्सर निको हुन महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ । वि.स.२०६२ सालमा उहाँलाई ढाडमा क्यान्सर लागेको रहेछ । तर डाक्टरले उहाँको क्यान्सर तेस्रो तहमा पुगिसकेपछि वि.सं.२०६५ मा मात्र पत्ता लगाए । 

आत्मविश्वासले आफूलाई निको बनाएको क्षण सम्झदै त्रिपाठीले भन्नुभयो, ‘त्यतिबेला मनमा एकदमै छटपटी हुँदोरहेछ, अब आफू बाँिचन्न कि भन्ने डर लाग्दो रहेछ, तर डाक्टरहरुको परामर्श, साथीभाइको माया र आफूमा आत्मविश्वास भए यो रोगलाई जित्न सकिने रहेछ ।’ 

क्यान्सर भएपछि यसको प्रति असरसँग लड्नुपर्दा र पैसा, आफ्नो काम तथा भविष्यको बारेमा चिन्ता लिंदा तनाव बढ्ने डाक्टरहरु बताउँछन् । यसले गर्दा बिरामी झनै गलेको महसुस गर्ने र रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले बिरामीलाई यो अवस्थामा अत्यधिक परामर्शको आवश्यकता पर्ने नेपाल क्यान्सर अस्पतालका कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा.सचिन शाक्यले बताउनुभयो ।
    
 

अन्तिम अपडेट: चैत २७, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया