श्रीमानले कतारमा कमाउनुभयो, मैले पराले घरलाई पक्की बनाएँ

 भदौ ५, २०७५ मंगलबार १५:३१:५६ | उज्यालो सहकर्मी

हीरा उराव सरदार/सुनसरी । 

मेरो श्रीमान् कतारमा हुनुहुन्छ । उहाँ कतार बस्न थालेको चार वर्ष भयो । अब दुई वर्षपछि गाउँघरमै केही गर्ने गरी फर्किन्छु भन्नुभएको छ । श्रीमान् विदेश हिँडेपछि मेरो जीवनमा धेरै उतारचढाव आए ।

सासु, ससुरासँग भिन्न भएर बसेका थियौं । उहाँ विदेश गएपछि दुई छोराछोरी र मलाई यहाँ बस्ने घरको पनि समस्या थियो । परालको सानो घर थियो । सिधा भएर हिँड्दा पनि ठोकिन्थ्यो । छोराछोरीलाई कसरी स्कुल पढाउने, के खुवाउने ? केही समय निकै सास्ती भयो । 

दिक्क लाग्थ्यो । यसो गाउँतिर हिँड्दै गर्दा मान्छेहरु जम्मा भएको देखेँ । अनि के रहेछ भनेर बुझ्दा त त्यहाँ नयाँ कुराहरु सिकाईंदो रहेछ । खासै त बुझ्दिन थिएँ, तर उनीहरुले भनेका कुरा छेवैमा बसेर सुन्दा पनि मलाई आँट आउँथ्यो । 

ऋण तिरेर बचेको ५० हजार रुपैयाँ थियो । मैले थोरै जग्गा किन्छु भन्ने सोच बनाएँ । नपुगेको पैसा पछि दिने शर्तमा जग्गा किनें । परालको घर हावा आउँदा पनि उड्छ कि भन्ने चिन्ता हुन्थ्यो । अब सानो घर बनाउँछु भन्ने भयो । तर पैसा थिएन ।

श्रीमानले पठाएको पैसा थोरै थोरै जम्मा गरेर मैले घर बनाउने ढुंगा जम्मा गरें । सबैकुरा थोरै थोरै गर्दा पनि हुने रहेछ । जब गाउँमै सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बस्न पाएँ, तब मलाई घर बनाउन आँट आयो ।

घर बनाउन ठेक्का दिएँ । श्रीमानलाई पनि घर चाहिन्छ, परालको घरमा हुँदैन भनेर सम्झाएँ । उहाँले पनि पैसा पठाउनुभयो । मैले पनि गाउँघरमै सकेसम्म काम गरेर घर खर्च आफैंले पुर्‍याउने बाटो खोजें । 

अहिले सानो घर पनि बनाएको छु । म आफूमा पनि धेरै कुरामा परिवर्तन आएको छ । हाम्रो समुदायमा केटी मान्छे नयाँ मान्छेसँग बोलेको, हिँडेको देख्दा अनेक कुरा गर्छन् ।

मलाई पहिले त नयाँ मान्छेसँग बोल्न डर लाग्थ्यो । खाइहाल्छन् कि जस्तो लाग्थ्यो । तर हिजोआज म निर्धक्क भएर हिँड्न, बोल्न र आफ्ना योजना बनाउन सक्ने भएको छु ।

विदेशमा पनि पैसा बोटमा फल्दैन । यहाँभन्दा बढी दुःख गर्नुपर्छ । त्यसैले म पनि यहाँ दुःखै गर्छु । भोलिका लागि केही वचत गर्न सकियोस् भन्ने लाग्छ । सूँगुर पालेको छु, त्यही बेचेर आम्दानी हुन्छ ।

मैले आफ्नो खर्च पुर्‍याउँदा पनि निकै फाइदा हुँदोरहेछ । श्रीमान्ले पठाएको पैसाको हरहिसाब राख्ने गरेको छु  । त्यसो हुँदा बचत पनि हुने र भएको खर्च देखाएर कुन चाहिँ कटौती गर्न सकिएला भनेर सोचिंदो रहेछ ।

 विदेशमा भए पनि श्रीमानसँग सरसल्लाह नगरी कुनै काम गर्दिन । घर सल्लाह गर्नुपर्छ भन्ने बुझेको छु । हामीबीच विश्वास पनि बढेको छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

3 Comments

  • सुक बहादुर Tamang

    Aug. 31, 2018, 4:13 p.m.

    धेरै राम्रो लाग्यो

  •  0 Reply
  • Jit bahadur mijar

    Aug. 22, 2018, 8:38 a.m.

    I respect to her

  •  0 Reply
  • Thapa Benbahadur

    Aug. 21, 2018, 5:45 p.m.

    हाम्रो समाजमा घरेलु कामकाज काे साथै व्यवहारिक कुराहरु काे बारेमा शिक्षा दिन अत्यन्तै अावश्यक छ यसाे गरे सिमित अाय बाट पनि व्यवस्थित तरिकाले घर व्यवहार चलाउन सकिन्छ भन्ने विषयमा शिक्षा एवम् भराेशा दिलाउन संस्थाले सहयाेग पुराउन सकिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया