आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !

 जेठ १७, २०७५ बिहिबार १६:२७:१३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं, जेठ १७ – सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटले धेरै कमाउनेलाई धेरै आयकर तिर्नु पर्ने ब्वयस्था गरेको छ र थोरै तथा मध्यम कमाई गर्नेलाई अहिले तिरिरहेको आयकरमा निकै ठूलो सहुलियत दिएको छ ।

अहिले सामाजिक सुरक्षाका लागि १ प्रतिशत बाहेक सरकारले वर्षमा २५ लाख रुपैयाँसम्म कमाउने ब्यक्तिबाट २५ प्रतिशतसम्म आयकर लिंदै आएको छ । तर अब साउनदेखि सरकारले सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रतिशतको दरले आयकर तिर्नुपर्ने व्यवस्था अघि सारेको छ ।

अब लागू हुने आयकरको नयाँ दर अनुसार वर्षमा ७ लाख रुपैयाँसम्म कमाउने ब्यक्तिले अहिले तिर्दै आएको करमा वर्षमा झण्डै १५ हजार रुपैँया छुट पाउनेछन् । तर वर्षमा ७ लाख भन्दा धेरै कमाई गर्ने व्यक्तिले भने साउनदेखि कमाई अनुसार कमाएकोमध्ये ३६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।

अहिलेको कर व्यवस्था

कुरालाई सजिलो बनाउन श्यामलाल र प्रमिलाको कुरा गरौं । श्यामलाल एउटा आईटी कम्पनीमा वर्षमा ७ लाख तलब पाउने काम गर्छन । उनकै कम्पनीमा ईञ्जिनियर प्रमिलाको वार्षिक तलब २४ लाख छ । दुबै जना विवाहित हुन् ।

 

विवाहित र अविवाहितलाई सरकारले अलग अलग करका स्लावहरु तोकेको छ । तर यसमा फरक ५० हजार रुपैयाँ कमको मात्र छ । अथवा विवाहितको पहिलो स्लाव ४ लाख छ भने अविवाहितको ३ लाख ५० हजार ।

अहिलेको व्यवस्था अनुसार श्यामलालले कमाउने ७ लाखमध्ये ४ लाख रुपैयाँमा सामाजिक सुरक्षा वापत लिईने १ प्रतिशतको ४ हजार रुपैयाँ, थप १ लाखको १५ प्रतिशतका दरले वर्षमा १५ हजार र थप २ लाख रुपैयाँको २५ प्रतिशतका दरले आयकर बुझाउनु पर्छ ।

अथवा, श्यामलाल जस्ता ७ लाख कमाउने मानिसले अहिले बर्षमा शुरुको ४ लाखको १ प्रतिशतका हिसावले ४ हजार, कमाईलाई पाँचौ लाख बनाउने अर्को एक लाखको १५ प्रतिशतका हिसावले १५ हजार र अन्तिम २ लाखको २५ प्रतिशतका दरले ५० हजार रुपैयाँ गरी वर्षमा ६९ हजार रुपैयाँ (अथवा हरेक महिना ५ हजार ७ सय पचास रुपैयाँ) तलब खल्तीमा नपर्दै सरकारलाई आयकर बुझाई रहेका छन् ।

अब प्रमिलाले अहिलेसम्म तिरिरहेको आयकरको हिसाब गरौं । श्यामलालले झै प्रमिलाले कमाउने २४ लाखमध्ये ४ लाख रुपैयाँमा सामाजिक सुरक्षा वापत लिईने १ प्रतिशत बापतको ४ हजार रुपैयाँ, थप १ लाखको १५ प्रतिशतका दरले वर्षमा १५ हजार र अर्काे १९ लाख रुपैयाँको २५ प्रतिशतका दरले हिसाव गरेर आउने ४ लाख ७५ हजार रुपैयाँ आयकर बुझाउनु पर्छ ।

अथवा, प्रमिला जस्ता २४ लाख कमाउने मानिसले वर्षमा ४ लाख ९० हजार ४ सय रुपैयाँ (अथवा हरेक महिना ४० हजार ८ सय ६७रुपैयाँ) तलब खल्तीमा नपर्दै सरकारलाई आयकर बुझाउनु पर्छ । 

नयाँ व्यवस्था अनुसार कति तिर्नु पर्छ त कर ?

श्यामलाल वर्षमा ७ लाख नै कमाउँछन् । तर, नयाँ व्यवस्था अनुसार पनि ४ लाख रुपैयाँको १ प्रतिशतका दरले ४ हजार रुपैयाँ त पहिलेको जस्तै छ ।

तर ४ लाख भन्दा माथि थप एक लाखमा पहिले १५ प्रतिशत तिर्नुपर्नेमा अब १० प्रतिशत मात्रै तिरे पुग्छ । अथवा उनले तिर्ने दोस्रो १ लाखमा ५ हजार रुपैयाँ घटेर कर १० हजारमात्र भएको छ । थप दुई लाखको पहिले २५ प्रतिशत तिर्नुपथ्र्यो ।

अहिले त्यो २० प्रतिशत मात्र भयो । अथवा पहिले ५० हजार तिर्नुपर्ने ठाउँमा अब ४० हजार मात्रै तिरे पुग्ने भयो । बर्षमा ७ लाख रुपैयाँको जागिर खाने श्यामलालले सरकारलाई तिर्नुपर्ने कर १५ हजार घटेको छ । अथवा नजानिकनै श्यामलालको खल्तीमा पर्ने मासिक तलबमा सरदर ११ सय रुपैयाँ थपिएको छ । 

तर वार्षिक २४ लाख रुपैयाँ नै कमाउने प्रमिलाले तिर्ने आयकर भने बढेको छ । अहिले ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दा सोलोडोलो २५ प्रतिशत आयकर तिरे पुग्नेमा अब ५ देखि ७ लाखसम्म कमाउनेले २० प्रतिशत र ७ देखि २० लाखसम्म कमाउनेले ३० प्रतिशत आयकर तिनुपर्नेछ । वर्षमा २० लाख भन्दा बढी कमाउनेले ३० प्रतिशत करमा अतिरिक्त २० प्रतिशत कर पनि तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ । 

अबको व्यवस्था अनुसार प्रमिलाले कमाईको पहिलो ४ लाख रुपैयाँको १ प्रतिशतका दरले ४ हजार, दोस्रो तहको १ लाखको १० प्रतिशतले १० हजार, तेस्रो तहको थप दुई लाखको २० प्रतिशतका दरले ४० हजार तिर्नुपर्छ ।

७ लाखभन्दा माथि २० लाखसम्मको तलबको ३० प्रतिशतका दरले १३ लाख रुपैयाँको ३ लाख ९० हजार बुझाउनु पर्छ । अनि २० लाख भन्दा माथिको थप ४ लाखको ३० प्रतिशतका दरले १ लाख २० हजार तिर्नुपर्छ । अनि त्यो १ लाख २० हजारको २० प्रतिशत अतिरिक्त कर २४ हजार रुपैयाँ गरि बर्षमा ५ लाख ८८ हजार आयकर बुझाउनु पर्छ । 

अहिलेको व्यवस्था अनुसार प्रमिलाले तिर्ने कर २४ लाखको वर्षमा ४ लाख ९० हजार ४ सय रुपैयाँ  पुग्छ भने साउनदेखि त्यही तलबमा तिर्ने आयकर बढेर ५ लाख ८८ हजार पुग्नेछ । अथवा प्रमिलाको पर्समा पर्ने हरेक महिनाको तलबबाट सरदर ८ हजार एक सय ३४ रुपैयाँ गायव भएर सरकारको ढुकुटीमा जानेछ ।  

अब एकछिन श्यामलाल र प्रमिलाका हाकिमको कुरा गरौं । उनको तलब वार्षिक २ करोड रुपैयाँ छ । वार्षिक तलब २ करोड कमाउने हाकिमले अब शुरुको २० लाख रुपैयाँमा १, १० र २० प्रतिशतका दरले ४ लाख ४४ हजार रुपैयाँ कर तिर्दा पुग्छ ।

तर २० लाख भन्दा बढी १ करोड ८० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम ५४ लाख रुपैयाँ कर तिर्नुपर्छ । नयाँ व्यवस्था अनुसार २० लाख रुपैयाँभन्दा बढी कमाईको करमा २० प्रतिशत अतिरिक्त कर लगाउँदा उनले तिरेको करको ५४ लाखमा थप २० प्रतिशत कर पनि तिर्नुपर्छ । थपिएको २० प्रतिशतका दरलेउ नले थप १० लाख ८० हजार रुपैयाँ पनि कर तिनुपर्छ  ।

यसरी अब उनका हाकिमले वार्षिक २ करोड कमाउँदा ६९ लाख २४ हजार रुपैयाँ राज्यलाई बुझाउनुपर्छ । स्पष्ट हुनुपर्ने कुरा चाहिँ के हो भने, आयकरको यो व्यवस्था तलवमा काम गर्ने मानिसका लागि मात्रै हो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया