रकम अभावका कारण नाै वर्षदेखि महिला बन्दीगृह अलपत्र

 भदौ ५, २०७५ मंगलबार १६:८:५३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – आवश्यक बजेट निकासा नभएपछि धौलागिरिकै पहिलो निर्माणाधीन महिला बन्दीगृह अलपत्र परेको छ । 

निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि रकम निकासा नहुँदा पर्वत कारागारमा निर्माणाधीन अवस्थामा रहेको बन्दीगृह निर्माण कार्य प्रभावित बनेको हो ।

रकम निकासा नभएपछि बारम्बार सम्बन्धित निकाय र विभागमा जानकारी गराएपनि प्राप्त हुन नसकेको पर्वत कारागारका प्रमुख मोहनप्रसाद उपाध्यायले बताउनुभयो । 

‘बन्दी गृह निर्माण सुरु गरेको नौ बर्ष बितिसक्यो, उहाँले भन्नुभयो, ‘आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।’

उहाँका अनुसार निकासा भएको १४ लाख रुपैंयाले पर्खाल निर्माणको आधा काम मात्र सकिएको छ ।  अहिले निर्माणाधीन महिला बन्दीगृहमा वृक्षारोपण गरे जस्तै गरी सिसौ र अन्य विभिन्न प्रजातिका रुखहरु उम्रिएका छन् ।

२५ जना क्षमताको त्यस बन्दीगृहका लागि ७२ लाखमध्ये आर्थिक वर्ष २०६९-७० मा १४ लाखमात्र विनियोजन भर्इ काम सम्पन्न भएको थियो । 

०६६ माघबाट निर्माण सुरु गरिएको बन्दीगृहको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । बजेट निकासा भई नआउँदा निर्माणस्थल झारले भरिदैं गएको छ । एक वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएपनि समयमै बजेट निकासा नभएपछि यस्तो समस्या झेल्नु परेको कार्यालयले जानकारी दिएको छ । 
यसरी महिलाका लागि छुट्टै बन्दीगृह निर्माण गरिएको यो पहिलो हो । महिलाकै लागि भनेर निर्माण गरिएको त्यस गृहमा बागलुङ, म्याग्दी र मुस्ताङदेखिसमेत महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण कार्य थालनी गरिएको थियो ।

२५ जना कैदी बन्दीको क्षमता भएको पर्वत कारागारमा अहिले ५ महिला सहित ७८ जना छन् । जसमध्ये ७२ जना कैद समाय तोकिएका छन् भने ६ जना थुनुवा बन्दी रहेका छन् । महिला बन्दी गृह निर्माण भएपछि कारागार भित्रै काेठा छुट्याएर गरेर दुई भागमा महिला पुरुषलाई राखिएको कारागार प्रमु्ख उपाध्यायले बताउनुभयो । 

महिला बन्दीगृह नबन्दा पुरुषहरु राख्ने ठाउँमा खचाखच भएर समस्या उत्पन्न भएको बताउँदै उपाध्यायले महिला बन्दीगृह निर्माण सम्पन्न हुन सकेमा फराकिलो गरी राख्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया