बायोग्यास ‘प्याट्ट’ पार्दै प्रम ओलीले भने : ३२ जनाले सिलिन्डरका डल्ला चाहिँदैन भनेर फालेकोमा खुशी छु

 भदौ ५, २०७५ मंगलबार १६:५८:५७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा निर्माण भएको बायोग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले बायोग्यास प्लान्टको उद्घाटन गर्नुभएको हो । उहाँले भने झैँ पाइपलाइनबाट घर–घरमा ग्यास पुर्याइएको कार्यक्रममा सहभागी हुँदा खुसी व्यक्त गर्दै ओलीले विराटनगरबाट सुरु भएको यो अभियान देशभरि नै विस्तार गरिने बतानुभयो । उहाँले प्राकृतिक श्रोत र साधनले भरिपूर्ण देशमा प्रविधिको विकास गर्दै अघि बढ्ने हो भने अहिले रहेको ९३ प्रतिशतको व्यापार घाटा घट्ने स्पष्ट पार्नुभयो ।

विराटनगरले २० प्रतिशत सस्तोमा पाइपको माध्यमबाट ग्यास वितरण सुरु गरेकोले सस्तो ग्यास बनाएर घरघरमा पुर्याउन सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘३२ जनाले भए पनि सिलिण्डरका डल्ला चाहिँदैन भनेर मिल्काएका छन्’, उहाँले भन्नुभयो, ‘अब ४८ जनाले पनि चाहिँदैन सिलिण्डरका डल्ला भनेर फाल्नेछन् । यो क्रमलाई हामीले निरन्तरता दिन खोजेका छौ ।’
 
ओलीले निजी क्षेत्रलाई पनि सरकारले लगानीको वातावरण बनाएको जानकारी गराउँदै ४ वटा क्षेत्रमा लगानी गर्न भनिएको स्पष्ट पार्नुभयो । उनले ती ४ क्षेत्रमा उत्पादन, रोजगारी, उत्पादकत्व र निर्यातको अवस्था रहेको बताए ।

उर्जामन्त्रीको आश

उर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलार्ई धेरैले उडाएका थिए । अहिले हुन सक्ने रहेछ भन्ने प्रमाण प्रस्तुत भएको छ ।’ मन्त्री पुनले वार्षिक ३८ अर्बको ग्यास आयात भएको अवस्थामा मुख्य उद्धेश्य ग्यासको आयात विस्थापनको लागि पनि लाग्ने हो भने पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो । अहिले विद्युत एक खर्बको निर्यात रहेको र १२ खर्बको आयातको अवस्थामा रहेकोले व्यापार घाटा अत्याधिक रहेको औल्याउँदै ग्रामिण बस्तीहरुबाट आत्मनिर्भरको अभियान सुरु हुनु पर्ने  उहाँले बताउनुभयो । 

गौ सेवाको यस्तो अवस्था

गौ सेवा सदनमा हरेक दिन २ टन गोबर उत्पादन हुँदै आएको छ । यसरी उत्पादन भएको गोबरको सदुपयोगको लागि त्यही गोबरलाई कच्चा पद्धार्थको रुपमा प्रयोग गरेर प्लान्टबाट ग्यास उत्पादन भएको हो । तर यसरी बनाइएको ग्यास प्लान्ट कसको डिजाइन होला भनेर जोकोहीलाई लाग्न सक्छ । तर यो योजना गएको वर्षदेखि मात्र आएको हो ।

२०५२ सालमा रामकुमार अग्रवालले ३ बिगाहा जग्गा गौ सेवा समितिलाई उपलब्ध गराएपछि गाई पालनको काम सुरु भएको हो । जग्गा राम कुमारले उपलब्ध गराएको भए पनि यो कामको सुरुवात विन्ध्या अग्रवालले गर्नुभएको हो । त्यसपछि लगातार गाईको संरक्षण र पालन पोषण हुँदै आएको यो गौशालामा अहिले  २ सय ५ वटा गाई रहेको छ । यी गाईको पालन पोषणमा वार्षिक ७० लाख खर्च भएको र वार्षिक ३० लाख विभिन्न क्षेत्रबाट आम्दानी हुँदै आएको गो सेवा समितिका अध्यक्ष शंकरलाल अग्रवालले बताउनुभयो । 

एक करोड ५० लाखको लागतमा निर्माण भएको बायोग्यास प्लान्टबाट एक सय घरलाई ग्यास वितरण गरिने योजना बनाइएको भए पनि पहिलो चरणमा ८० घरमा ग्यास वितरण भएको उहाँले बताउनुभयो । वर्ल्ड बैंकको लगानीमा वैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रमको ७५ प्रतिशत, ११ प्रतिशत विराटनगर महानगरपालिका र १५ प्रतिशत गौ सेवा सदनको लागतमा वायोग्यास निर्माणको काम पूरा भई आम नागरिकको घरघरमा ग्यास पुगेको हो ।

सहयोग पाए एक मेगावाट विद्युत उत्पादनको तयारी

गौ सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइप लाइनबाट ग्यास पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा विद्युत उत्पादन गर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे एक मेगावाट विद्युत उत्पादनका लागि आफूहरु तयार रहेको जानकारी गराउनुभयो । 

७ हजार स्क्वायर फीटको आरसीसी सेट बनाउनको लागि आर्थिक अभाव रहेको र त्यो व्यवस्थापनको लागि घरहरु रहेकोले सरकारले केही सहयोग गरेमा एक मेगावाट बिजुली निकाल्न सक्ने बताएका उहाँले विराटनगर १४ का जनताका घरमा कहिल्यै बत्ती नजाने गरी झिलीमिली पार्न सकिने बताउनुभयो ।

अध्यक्ष अग्रवालले सुनाएको यो योजनामा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया या सहयोगको लागि आश्वासन दिनुभएन  ।

सरकारको लगानी बेगरको यो  पाइप लाइनको ग्यासले चर्चामा आएका प्रधानमन्त्री ओलीले देशका धेरै स्थानमा सरकारको लगानीमा बायोग्यास वा वैकल्पिक उर्जामा जोड दिने हो भने फेरि थप चर्चामा ल्याउला । अन्यथा अरुको भरमा सफलताको नाटकले बीच बाटोमै धोका नदेला भन्न सकिन्न । 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • binod karki

    Aug. 21, 2018, 9:19 p.m.

    गरे याहाँ के हुँदैन बालुवामा पानी हुन्छ तर निकाल्न जान्नु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया