पाहुनालाई देखाउन सडक सिँगार्न भ्याईनभ्याई

 भदौ ६, २०७५ बुधबार ७:५८:५३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – मंगलबार बेलुका अबेरसम्मै काठमाडौंका धेरै ठाउँमा सवारी जाम भयो ।

दिउँसोदेखि सडकका खाल्डाखुल्डी पुर्ने काम भएकाले अबेरसम्मै सवारी जाम भएको हो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को शिखर सम्मेलनको तयारीका क्रममा केही दिनदेखि सडकका खाल्डाखुल्डी पुर्ने काम भैरहेको छ । यसअघि राति मात्र खाल्डाखुल्डी पुर्ने गरिन्थ्यो । तर सम्मेलनको लागि पाहुना आउने दिन नजिकिंदै गर्दा दिउँसो पनि खाल्डाखुल्डी पुर्न थालिएको छ । 

यसअघि सरकारको नजर नपुग्ने शहरभित्रका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने तथा सडक छेउछाउका फोहोरका डंगुरलाई व्यवस्थित गर्ने काम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर हुँदै सोल्टी होटलसम्म पुग्ने सडकमा रंगरोगन गरिंदैछ । 

सम्मेलनमा सहभागी हुन आउने विशिष्ट व्यक्तिको स्वागतको लागि तिलगंगादेखि सिनामंगलसम्म सडकको एकातर्फ चिनियाँ दुबो लगाउने काम तीव्र रुपमा भइरहेको छ । माइतीघरको मण्डलामा रंगरोगन गरिंदैछ । चाबहिल, तीनकुने, नयाँ बानेश्वर, माइतिघर हुँदै साल्टी होटलसम्म पुग्ने सडकमा पनि रंगरोगन हुँदैछ । सडक छेउछाउको फोहोर व्यवस्थापन गरिंदैछ । तीनकुनेको खाली मैदानलाई जस्ताको पाताले बार्न लागिएको छ ।

१४ गतेभित्र चारैतिर बारेर छोप्न लागिएको त्यहाँ काम गर्दैगरेका भक्तपुरका आशिष राईले बताउनुभयो । ‘सात देशका नेताहरु आउने भएकाले यो फोहोर देखिन्छ भनेर बार्न लागेको रे’, राईले भन्नुभयो, ‘गरिबलाई मासु खान दसै‌ं कुर्नपर्छ, त्यस्तै काठमाडौंवासीलाई सफा सहर देख्न सम्मेलन कुर्नुपर्ने रहेछ ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै सडक चिल्ला हुन लागेका छन् । फोहोर व्यवस्थापन गर्न महानगरपालिका लागिपरेको छ भने सडकका खाल्डाखुल्डी पुर्न र छेउछाउमा रंगरोगन गर्न सडक विभागलाई जिम्मा दिइएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सहरको सरसफाई तथा रङ्गरोगन गर्ने काममा महानगरपालिका लागिपरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा र विदेशी प्रमुख आउँदा मात्र काठमाडौं किन सफा गरिन्छ ? अरुबेला किन कसैको ध्यान जाँदैन भन्ने प्रश्नमा कार्कीले भन्नुभयो, ‘यहाँ विकास निर्माणका थुप्रै कामहरु भइरहेका छन् । निर्माण सम्पन्न नभएसम्म यस्तो समस्या हुन्छ नैै । पाहुना आएको बेला त्यसै भद्रगोल छोड्नु त भएन नि ।’

बिम्सटेकको शिखर सम्मेलनमा आउने पाहुनाले अहिलेको जस्तै सडकको दुर्गती देख्नु नपरोस् भनेर खाल्डा पुर्ने र पिच गर्ने काम मध्यमाञ्चल सडक डिभिजन कार्यालयले गर्दैछ । बिम्सटेकमा सहभागिता जनाउन आउने पाहुनाहरु उपस्थित हुनुपर्ने ठाउँसम्मका सबै सडक खण्डलाई मर्मत गरिन लागेको डिभिजनका निर्देशक शिवहरि सापकोटाकाले बताउनुभयो ।

पानी परेको बेलामा पनि पिच गर्ने काम भैरहेको छ । विभागका निर्देशक सापकोटाले कोल्ड मिक्स प्रविधिबाट पिच हुने भएको चिस्यानमा गरेको पिच नउप्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसरी घरमा पाहुना आउँदा तथा कुनै विशेष कार्यक्रम हुँदा घर सजाउने काम हुन्छ, त्यस्तै देशमा पनि कुनै विदेशी राष्ट्राध्यक्ष आउँदा तथा शिखर सम्मेलन आयोजना गरिंदा सामान्य सजाएको मात्रै हो ।’

काठमाडौंमा खानेपानीका पुराना पाइप लाइनलाई विस्थापित गरेर मेलम्चीको पाइपलाइनमा नल्याउँदासम्म सडकको समस्या रहिरहने सापकोटाले बताउनुभयो । आउँदो १४ र १५ गते हुने बिम्सटेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत ६ देशका सरकार र राष्ट्र प्रमुख काठमाडौं आउने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • सन्देश भट्टराइ

    Aug. 22, 2018, 11:38 a.m.

    जस्तै झुपरी घर हुनेहरुले पनि पाहुना आएको बेला आफ्नो घर सिँगारे जस्तै हो । समाचारको हेडिङ्ग पनि कस्तो वायोसनेस भएर लेख्या हो कुन्नी ।

  •  0 Reply

तपाईको प्रतिक्रिया