नागरिक ऐन संशोधन गर्न सभामुख महरासँग राष्ट्रिय जागरण परिषदकाे माग

 भदौ ६, २०७५ बुधवार १५:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रिय जागरण परिषद, नेपालले नागरिकता ऐन–२०६३ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको गम्भिर ध्यानाकर्षण गराएको छ । 

परिषद्ले सरकारले हालै संघीय संसदमा पेश गरेको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न बुधबार सभामुख कृष्णबहादुर महराको गम्भीर ध्यानाकर्षण गराएको हो ।

परिषदले नागरिकसम्बन्धी विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानबिन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महरासँग आग्रह गरेको छ । राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सभामुख महराको गम्भिर ध्यानाकर्षण गराइएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भूगोल, सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरुको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

सभामुख महराले पनि नागरिकसम्बन्धी ऐन संशोधनका लागि परिषद्ले दिएको सुझावलाई आफूले गम्भिर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिनुभयो ।

उहाँले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधिसभामा पनि आवश्यक छलफल गराउने  पनि बताउनु भयो ।

परिषद्ले नेपाली नागरिक महिलाले विदेशी नागरिकसँग बिहे गरी विदेशमै बसोबास गरेमा उनको नागरिकता विवाह भएको ६ महिनापछि स्वत: खारेज हुने कानुनी व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारसँग राख्दै आएको छ ।

अन्तिम अपडेट: भदौ ११, २०७५

तपाईको प्रतिक्रिया