वैदेशिक रोजगारीमा जाने घटे, तर रेमिट्यान्स बढ्यो

 भदौ ६, २०७५ बुधबार १७:३८:४८ | सन्जिता देवकोटा

काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि कामदारले विदेशबाट पठाउने रकम विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह भने बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक तथ्याँकअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको छ । कामदारको तलब तथा अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स रकम बढेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकमा गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेर सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स ४ दशमलव ६ प्रतिशतले बढेको थियो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स बढे पनि कुल ग्राहस्थ उत्पादनसँग रेमिट्यान्स आप्रवाहको अनुपात भने घटेको छ । अघिल्लो वर्ष यस्तो अनुपात २६ दशमलव ३ प्रतिशत रहेकोमा गएको आर्थिक वर्षमा २५ दशमलव १ प्रतिशत मात्र छ । 

धेरै रेमिट्यान्स मलेसियाबाट भित्रियो

सबैभन्दा धेरै रेमिट्यान्स खाडीका ६ देशबाट भित्रिएको छ । सरकारले नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको छ । तर राष्ट्र बैंकको तथ्याङ्कमा भने सबैभन्दा धेरै रेमिट्यान्स मलेसियाबाटै भित्रिएको उल्लेख छ । 

कुल रेमिट्यान्सको २९ प्रतिशत हिस्सा मलेसियाको रहेको छ भने दोस्रोमा कतार छ । कतारबाट २८ दशमलव ८, युएईबाट १६ दशमलब ८, साउदीबाट ११ दशमलब ४, कुवेतबाट ४ दशमलब ९, बहराइनबाट १ दबमलब ४ र दक्षिण कोरियाबाट १ दशमलब ३ प्रतिशत  रेमिट्यान्स अघिल्लो आर्थिक वर्षमा नेपाल भित्रिएको छ ।

कामका लागि विदेशिने घटे

पछिल्ला वर्षहरुमा देशको आर्थिक अवस्थामा सुधार आएको र युवाहरुले देशभित्रै केही काम गर्न थालेपछि विदेश जानेको संख्या घट्न थालेको छ ।

राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटेको देखाएको हो । प्रतिवेदनअनुसार विदेश जाने कामदारको संख्या १० दशमलव १ प्रतिशतले घटेको छ । 

आर्थिक वर्ष २०७३/०७४ मा नेपालबाट तीन लाख ९८ हजार ९७८ जना नयाँ कामदार रोजगारीका लागि विदेश गएकोमा ०७४/७५ मा तीन लाख ५८ हजार ८१५ जना कामका लागि लागि विदेश गएका छन् ।

यस्तै पुन: श्रम स्वीकृति लिएर विदेश जानेको संख्या पनि अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७३/०७४ मा पुन: श्रम स्वीकृति लिएर २ लाख ६० हजार २ सय ५२ जना विदेश गएकोमा ०७४/७५ मा २ लाख ५८ हजार ६ सय २ जना विदेशमा काम गर्न गएका छन् ।

प्रतिवेदन अनुसार मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्या बढेको छ भने कतार, साउदी लगायत देशमा जाने कामदारको संख्या घटेको छ । 

रेमिट्यान्स घटबढ हुँदा अर्थतन्त्रमा पर्ने असर

विदेशमा काम गर्नेले पठाएको रकम अर्थात रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानेको छ । रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमै अगाडि पर्छ । 

रेमिट्यान्सको आम्दानीबाट देशको समग्र अर्थतन्त्र तथा परिवारको आर्थिक विकासमा पनि टेवा पुगेको छ । अहिले विदेशी कामदार घटे पनि रेमिट्यान्स बढ्दा यसले बहुआयामिक असर पार्ने अर्थविद् डा. डिल्लीराज खनालले बताउनुभयो । उहाँका अनुसार यसको असर दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्यदेखि वैदेशिक लगानीमा पनि पर्न सक्छ । 

रेमिट्यान्स बढे पनि कूल ग्राहस्थ उत्पादनमा यसको योगदान घट्दै गएकाले अब आन्तरिक अर्थतन्त्रलाई नै सुधार गर्नुपर्ने उहाँको भनाई छ । ‘आयात घटाउने र निर्यात बढाउनेतर्फ लाग्नुपर्छ’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया