ट्याक्सी ड्राइभरले रुचाएनन् ज्याकेट : माइक्रो र ठूला बसमा पनि लागू हुने

 भदौ ७, २०७५ बिहिबार ६:३७:३४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – मकवानपुरका टंकबहादुर थापा मगर बुधबार एकाबिहानै पहेंलो ज्याकेट लगाएर आफ्नो ट्याक्सी सफा गर्दै हुनुहुन्थ्यो ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो ज्याकेट लगाउनैपर्ने नियम लागू गरेपछि उहाँले तीनसय रुपैयाँमा ज्याकेट किन्नुभयो र लगाउनुभयो । तर पनि उहाँ खुशी भने देखिनु भएको थिएन । उहाँले भन्नुभयो, ‘के गर्ने, नियम लगाएपछि मान्नै पर्यो । खाली गर्मी मात्र गर्छ, काम केही छैन यो ज्याकेटको ।’

यस्तै अर्का ट्याक्सी चालक सन्तोष मैनालीले पनि यो नियमबारे असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘ट्राफिक प्रहरीले लगाएका कुन नियमको पालना भएको छ ? यसको पनि त्यस्तै अवस्था त हुने होला नि । ज्याकेट लगाएर काठमाडौंको जामै रोकिन्छ भने म लगाइदिन्छु बरु ।’

बुधबारदेखि ट्याक्सी चालकले अनिवार्य रुपमा चालकको पहिचान झल्काउने फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने नियम लागू भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले सबै ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट लगाउन निर्देशन दिएको बताउनुभयो ।

ट्याक्सी महासंघ र महानगरीय ट्राफिक प्रहरीको आपसी निर्णयमा यस्तो ज्याकेट लगाउनुपर्ने नियम लागू गरेको पन्तले जानकारी दिनुभयो । यसले यात्रु र विशेष गरी  विदेशी पर्यटकहरुलाई चालकको पहिचान गर्न सहज हुने उहाँले बताउनुभयो ।

यसबाट चालकहरु आफ्नो पेशाप्रति उत्तरदायी हुने पनि पन्तले दावी गर्नुभयो । पहिलो एक महिनामा नियम पालना नगर्ने चालकलाई सचेत गराउने र त्यसपछि पनि नमाने कानुनी कारबाही अघि बढाइने महाशाखाले जनाएको छ । हाल यातायात व्यवस्था कार्यालय, बागमती मातहत ११ हजार ट्याक्सी चालक रहेका छन् ।

अहिले ट्याक्सीमा मात्र लागू गरिएको यो नियम उपत्यकाका सबै बसहरु कम्पनीमा दर्ता भएपछि बसमा र माइक्रोमा पनि लागू हुने पन्तले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया