वेष्ट इण्डिजद्वार विश्व एघार पराजित

सन्दीपले जोडे ४ रन

 जेठ १८, २०७५ शुक्रबार ६:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १८ – वेष्ट इण्डिज विरुद्धको च्यारिटी म्याचमा विश्व एघार पराजित भएको छ । नेपाली युवा स्टार सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुवै मौका पाएको खेलमा विश्व एघार ७२ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि इर्भिन लुइसले ५८ रन, दिनेश रामदिनले ४४ रन, मर्लुस सामुयल्सले ४३ रन, क्रिश गेलले १८ रन, एन्ड्रु रसेलले २१ रन तथा आन्द्रे फ्लेचरले ७ रन बनाएका थिए ।

बलिङतर्फ रसिद खानले २ विकेट लिए भने शोहिव मलिक र शाहीद अफ्रिदीले १–१ विकेट हात पारे ।

२०० रनको लक्ष्य पछ्याएको विश्व एघार १६.४ ओभरमा १ सय २७ रनमा अलआउट भयो । विश्व एघारका लागि थिसरा परेराले सर्वाधिक ६१ रनको योगदान दिए भने सोहिब मलिकले १२, शाहीद अफ्रिदीले ११, मिचेल म्याकलेनाघनले १०, रसिद खानले ९, साम बिलिङ्सले ४ तथा सन्दीप लामिछानेले अविजित ४ रनको योगदान दिए । दिनेश कार्तिमक शून्यमै आउट भएका थिए ।

बलिङतर्फ केस्रिक विलियम्सले ३ विकेट लिए भने सामुयल बद्री र एन्द्रे रसेलले २–२ विकेट हात पारे । किमो पाउल र कार्लोस ब्राथवेटले पनि १–१ विकेट लिए ।

गएको वर्ष वेष्ट इण्डिजमा आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन इंग्ल्याण्डको लड्र्समा खेल आयोजना भएको थियो । यो खेलका लागि विश्व क्रिकेटमा प्रभाव जमाएका भेट्रान तथा युवा खेलाडीलाई सम्मेलित गरी टिम बनाइएको थियो । जुन टिममा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि परेका थिए ।

१३औं ओभर बलिङ गर्दा सन्दीपको अगाडि दिनेश रामदिन र मर्लुन सामुयल्स थिए । पहिलो तीन बलमा एक एक रन खर्चिएका सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरेका थिए । उनले पाँचौं बलमा तीन रन खर्चिए भने छैटौं बल डट फाले । उनले कुल १२ रन दिएका थिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० मा ब्याटिङ गरेका सन्दिपले अविजित ४ रनको योगदान दिए । रसिद खान आउट भएपछि क्रिजमा आएका सन्दीपले केस्रिक विलियम्सको बलमा एक रन लिएका थिए भने एश्ले नर्सको बलमा तीन रन लिएका थिए ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया