फेरि कहिले खुल्छ कलंकी अण्डरपास ?

 भदौ ८, २०७५ शुक्रबार ७:१६:१२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – भदौ १ गतेदेखि यात्रु र गाडी चालकले कलंकीमा हुने जामबाट थोरै भए पनि छुटकारा पाएका थिए । धुलोधुवाँमा आधा घण्टासम्म जाममा पर्दाको सास्तीबाट थोरै छुटकारा पाएको हप्ता दिन नबित्दै कलंकी फेरि पुरानै अवस्थामा फर्किएको छ । १ गतेदेखि सञ्चालनमा आएको अण्डरपास ६ गते बन्द भएपछि कलंकी पुरानै अवस्थामा फर्किएको हो । 

निर्माण कार्य सम्पन्न नभएको र बढी धुलो धुवाँ उडेकाले अण्डरपास बन्द गर्नुपरेको चक्रपथ सुधार आयोजनाको भनाई छ । तर त्यही ठाउँमा कपडाको व्यापार गर्दै आएका नविन धानुक भन्नुहुन्छ, ‘धुलो त अण्डरपास खुल्नुभन्दा अघि पनि त्यत्ति नै उड्थ्यो ।’ उहाँले भन्नुभयो, ‘धुलोको मारले त कपडा पसल चलाउनै गाह्रो भएको छ । चाँडो पीच भयो भने धुलो टथ्र्यो कि भनेको त, झन् खोलेको अण्डरपास पनि बन्द गरियो ।’

अण्डरपास नखुल्दा ट्राफिक जाम बढ्ने र ट्राफिकलाई पनि बढी जनशक्ति खर्चनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यहाँ खटिएका ट्राफिक असई रमेश चौधरीले भन्नुभयो, ‘अण्डरपास नखुल्दा ८ जना ट्राफिक प्रहरी खटिनुपरेको छ । अण्डरपास खुले ४ जना ट्राफिक भए पर्याप्त हुन्छ ।’ 

चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले भन्नुभयो, ‘अण्डरपास परीक्षणको लागि नभई गाडी गुड्नयोग्य भइसकेकाले खुला गरिएको थियो । फेरि चिनियाँ पक्षले फिनिसिङ, सिमेन्ट पुटिङदेखि अन्य काम पनि गर्न बाँकी रहेकोले केही दिन बन्द गर्नुपर्ने भनेकाले बन्द गर्नुपरेको हो ।’ उहाँका अनुसार अण्डरपास खोल्दा कलंकीदेखि बल्खुसम्म बन्दै गरेको सडक निर्माणमा समस्या आउने भएकाले पनि एक हप्ता जति बन्द गर्न लागिएको  हो ।

काम सकेर केही दिनमा अण्डरपास खुलाउने तयारी भएपनि विधिवत उद्घाटन भने पछि मात्रै हुने आयोजनाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया